
नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिबाहेक अरु कुनै एजेण्डा आफूसँग नभएको बताइन् ।
उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने बताइन् ।
‘हामी आज तपाईहरूको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो । अरु हामीसँग एजेण्डा केही पनि छैन । यो देशको विकास बाहेक अरु छैन । हामीले भनेको जस्तो देश भएको छैन होला । तर, हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरू भए ती सम्पूर्ण कामहरूलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडि बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ’, घर्तीले भनिन्, ‘सांसदको सबभन्दा ठूलो काम के हो भने जनताको कानून बनाउने काम हो । देशको कानून बनाउने काम हो । धेरै कानूनहरू निर्माण गर्नुपर्ने बाँकी छन् । मैले कसैको पनि हक नछिनिने गरेर यहाँहरू सबैको हक, अधिकारहरू ग्यारेन्टी हुने गरेर आफुले कानून लेख्ने कुरामा सधै अग्रपंक्तिमा रहनेछु ।’
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारसमेत रहेकी घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरूको हक अधिकारहरूको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन् ।