प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिबद्ध भई काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा अझै पनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाल संवत् धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल संवत्को संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताए ।
‘हाम्रो धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै नेपाल संवत्लाई आगामी दिनमा यसको प्रयोगलाई बढाउँदै यसको संस्कृति र महत्वलाई जगेर्ना गर्न सबै मिलेर काम गर्न आवश्यक छ । नेपालमा अझैपनि गरिबीको रेखामुनी रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या छ । गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक दर, आर्थिकस्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन हामी सबै प्रयास गरिरहेका छौँ’, देउवाले भने, ‘सबै प्रतिवद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी, आर्थिक असमानता, विपन्नतालाई हटाउने काम शंखधर साख्वाजस्ता महान व्यक्तित्वबाट सबैले सिक्न जरुरी छ । व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्नसके हामी सफल हुन्छौँ ।’
प्रधानमन्त्री देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको बताए ।