२६ जेठ २०८३, मंगलबार

मानवजातिको सहायताका लागि आफूले ट्विटर किनेको इलोन मस्कको दाबी (भिडियो)

कात्तिक ११, २०७९
मानवजातिको सहायताका लागि आफूले ट्विटर किनेको इलोन मस्कको दाबी (भिडियो)

विश्वका सबभन्दा धनी व्यक्ति इलोन मस्कले मानवजातिको सहायताका लागि सामाजिक सञ्जाल ट्विटर किनेको बताएका छन् । 

ट्विटर किनेपछि विज्ञप्ति निकाल्दै मस्कले यस सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रतालाई उच्च सम्मान दिइने बताए । उनले विज्ञापनदाताहरूलाई आफ्नो ब्रान्ड प्रवर्धन गर्न ट्विटर सुरक्षित स्थान भएकोमा आश्वस्त पार्न खोजे । 

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट पुनः खुलाउने उनको भनाइ छ । 

महिनौंसम्मको अनिश्चिततापछि मस्कले ४४ अर्ब डलर खर्च गरेर ट्विटर किनेका हुन् । अमेरिकाको स्थानीय समयअनुसार शुक्रवार अपराह्न ५ बजेसम्ममा आफू ट्विटरको मालिक बनिसक्ने उनको भनाइ छ । 

मस्कले ट्वीट गर्दै एउटा विज्ञप्ति त्यसमा टाँस्दै लेखे, ‘साझा विद्युतीय शहर सभ्यताको भविष्यका लागि महत्त्वपूर्ण रहेकाले मैले ट्विटर किनेको हुँ । यहाँ हिंसा नगरिकन स्वस्थ तरिकाले बहस गर्न सकिन्छ ।’

‘त्यसैले मैले ट्विटर किनेको हुँ । यो सजिलाका लागि मैले किनेको हैन । थप पैसा कमाउनका लागि पनि किनेको हैन । मैले प्रेम गर्ने मानवतालाई सघाउने कोशिशस्वरूप ट्विटर किनेको हुँ ।’

ट्विटर किनेलगत्तै मस्कले सीईओ पराग अग्रवाल र अन्य शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेको खबर छ । 

त्यसअघि मस्क सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्य कार्यालय पुगेका थिए । त्यहाँ उनी भान्साको सिन्क बोकेर गएको भिडियो आफैंले पोस्ट गरे । त्यसमा उनले क्याप्सन लेखे, ‘ट्विटर हेडक्वार्टरमा प्रवेश गर्दै– त्यो कुरा दिमागमा घुसाऊ ।’ मस्कको आफ्नो ट्विटर ह्यान्डलमा ‘चीफ ट्विट’ लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्