
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनमा रहेका दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । शुक्रबार प्रतिनिधि सभा र प्रदेश सभातर्फ देशभरको सबै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो । गठबन्धन दलहरूले साझा उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिएको छ । विज्ञप्तिमा गठबन्धन दलबाट दोहोरो उम्मेदवारी परेको सम्बन्धमा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको उल्लेख छ । केही स्थानमा अझै छलफल जारी रहेको गठबन्धनले जनाएको छ ।
००००
सत्तारुढ गठबन्धनभित्र कतिपय निर्वाचन क्षेत्रमा सहमति नभएपछि मित्रवत प्रतिस्पर्धा हुने भएको छ । मित्रवत् प्रतिस्पर्धा हुने भनिएको निर्वाचन क्षेत्रमा धेरैजसो माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी रहेको छ । गठबन्धनमा भागबण्डा हुँदा चित्त नबुझाएको एकीकृत समाजवादीले बागी उम्मेदवारी दिँदा समस्या भएको हो । ती क्षेत्रमध्ये केहीमा अझै छलफल जारी रहेको छ भने कतिपयमा मित्रवत प्रतिस्पर्धा हुने निश्चित भइसकेको गठबन्धनको भनाइ छ ।
सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा खमा कांग्रेसका सञ्जय प्रकाश यादवसँगै एकीकृत समाजवादीका प्रमोद यादवको पनि दाबी रहेपछि सहमति भएको छैन । यद्यपि सहमति जुटाउन अझै छलफल जारी रहेको गठबन्धनको भनाइ छ । यस्तै धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झाबीच मित्रवत प्रतिस्पर्धा हुने निश्चित भएको छ । यस्तै महोत्तरी–२ को प्रदेश क मा एकीकृत समाजवादीकी मञ्जु यादव र लोसपाका जयनुल राइनको नाममा छलफल जारी छ भने सर्लाही १ को प्रदेश क मा माओवादीका रामचन्द्रसिंह कुसवाहा र लोसपाका उपेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव (माओवादीको चुनाव चिह्न) र लोसपाका राजेन्द्र महतोबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ । यसैगरी बारा १ को प्रदेशसभा निर्वाचन क्षेत्र ख मा कांग्रेसका नागेन्द्र कानु र समाजवादीका बतहु यादवबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ भने पर्सा ३ को प्रदेश ख मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र समाजवादीका प्रह्लाद गिरिबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै स्याङ्जा २ को प्रदेश क मा कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र भट्टराईको नाममा छलफल जारी रहेको छ भने कपिलवस्तु १ को प्रदेश ख मा पनि कांग्रेसका सहसराम यादव र एकीकृत समाजवादीका फजलुर खानको नाममा छलफल जारी छ । यस्तै बाँके २ को प्रदेश क मा कांग्रेसका राजकुमार बर्मा र एकीकृत समाजवादीका समसद्दिन सिद्दिकीबीच मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।
यसैगरी हुम्लाको प्रदेश क मा माओवादीका रनसिंह परियार र एकीकृत समाजवादीका हस्तबहादुर शाहीको नाममा छलफल जारी छ भने सुर्खेत २ को क मा कांग्रेसका कालीप्रसाद शाक्य र समाजवादीका शिवप्रसाद उपाध्याय तथा ख मा कांग्रेसका विन्दमान विष्ट र समाजवादीका मोहन बडुवालको नाममा छलफल जारी छ ।
यसैगरी बाजुराको प्रदेश क मा समाजवादीका नरेश शाही र माओवादीका कर्णबहादुर विश्वकर्माको नाममा छलफल जारी रहँदा कञ्चनपुर २ को प्रदेश ख मा कांग्रेसका बहादुरसिंह थापा र समाजवादीका लालबहादुर खड्काबीच मित्रवत हुने निश्चित भएको गठबन्धनले जनाएको छ ।
००००
यसैगरी काठमाडौं १० मा कांग्रेसका राजन केसी र माओवादीकी अञ्जना विशंखेबीच मित्रवत हुने भएको छ । सोही क्षेत्रको प्रदेश क मा कांग्रेसका पुकार महर्जन र माओवादीका दिलिप महर्जनबीच मित्रवत प्रतिस्पर्धा भएको छ । यसैगरी काठमाडौं ३ को प्रदेशसभा खमा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा हुनेछ भने काठमाडौं ५ को प्रदेश ख मा कांग्रेसका श्याबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत हुनेछ ।
००००
राष्ट्रिय जनमोर्चा पार्टीले रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन नगर्ने भएको छ ।शुक्रवार अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गर्दै सत्तारुढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले समर्थन नहुने जनाएका छन् ।
००००
निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विसं २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगले उक्त अनुरोध गरेको हो ।
००००
निर्वाचन आयोगले नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन कुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।
आयोगद्वारा कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
००००
गृह मन्त्रालयले महोत्तरीको भंगाह नगरपालिकामा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीवार भंगाहा नगरपालिका वडा नं।८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो । उक्त घटनाबारे छानबिन गर्न मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
सो सम्बन्धमा भंगाहामा पनि शुक्रबार ८ बुँदे सहमति भएको थियो ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन् । उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएका भएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।
स्वर्गीय जोशीको १३औँ पुण्यतिथिको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताए ।
००००
संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको बागमती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका थिए । यसलाई विसं २०६२ मा छठ पूजा समिति गुह्येश्वरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरी औपचारिकता दिइएको अध्यक्ष अनिल सिंहले बताए ।
००००
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । तापक्रम घटेका कारण चिसो महसुस भएको उनले बताए ।
उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने गरेको उल्लेख गरे । तुलनात्मक रूपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । उनले डिसेम्बर महिनाको शुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।