
विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नम्बर ५ नजिक फोहरको दुर्गन्ध छ ।
लुम्बिनी पुग्ने जो कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयको आरोप छ ।
‘महिलवार, पर्सा र मोगलहा लगायतका मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर यो क्षेत्र दुर्गन्धित र कुरूप देखिएको छ,’ स्थानीय व्यापारी बबिन बरइले भने, ‘पर्यटकीयस्थल सफा, सुन्दर र आर्कषक हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।’
लुम्बिनी सांस्कृतिक नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा लुम्बिनी दुर्गन्धित बनेको बरइले बताए । बजारभरिका फोहर सडकपेटी र लुम्बिनी विकास कोषको पर्खालभित्र फालिँदैछन् तर सरोकारवालाले ध्यान नदिएको उनको गुनासो छ ।
लुम्बिनी विकास कोषको मुख्य गेट (गेट नम्बर ५) महिलवार चोकस्थित सडकपेटी र टैक्सीस्टैण्ड वरपर फोहरको थुप्रो छ । बुद्ध दर्शन तथा शान्तिपूर्ण विश्रामका लागी लुम्बिनी पुगेका जापानी पर्यटक केंगो नोगुचीले नाक खुम्च्याउँदै भने, ‘फोहरको दुर्गन्धले पर्यटक–पाहुनालाई लुम्बिनीमा बस्ने र घुम्ने वातावरण बिगारेको छ ।’
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोष समेतले फोहर व्यवस्थापन र सरसफाइका लागि बर्सेनि लाखौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि सार्थकता नभएको स्थानीयको गुनासो छ । फोहरमैलाको शीघ्र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालालाई उनको आग्रह छ ।
‘जथाभावी फालिने फोहरमैलाका कारण त्यसक्षेत्रमा लामखुट्टेको प्रभाव बढी हुनुका साथै डेंगु लगायत रोगले समेत आक्रमण गर्नसक्ने खतरा छ,’ लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले भने, ‘फोहर व्यवस्थापन नहुँदा लंकापुरस्थित तेलार नदीको छठघाटमा बर्सेनि हुँदै आएको पूजा समेत प्रभावित हुने खतरा छ ।’
लुम्बिनीलाई सुन्दर, स्वच्छ र सफा राख्न अन्तर्राष्ट्रिय संस्था डब्ल्यूडब्ल्यूएफ, युनेस्को, एडीबी र विश्व बैंक लगायतका संघसंस्था लुम्बिनीमा लामो समयदेखि कार्यरत छन् । स्थानीयस्तरमा लुम्बिनी सरसफाइ व्यवस्थापन समिति र ग्रीन युथ अफ लुम्बिनी लगायतका संघसंस्था पनि लुम्बिनीको सरसफाइ र फोहर व्यवस्थापनका लागि सक्रिय छन् ।