
निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।
डा. कार्की लाभको पदमा बहाल रहेकाले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरण सहितको कागजात पठाएको थियो ।
उम्मेदवार डा. कार्की मिति २०७८ पुस २ गतेदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्थाबमोजिम २०७९ वैशाख ९ देखि २०७९ भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए ।