
सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ ।
दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो ।
महरा महाकाली किनारमा नेपाली क्षेत्रमा हिँडिरहेका बेला उक्त घटना घटेको थियो । “भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भने। उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल गरेको थियो ।
महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ । उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनामा आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताए ।
भारतीय निर्माण कम्पनी मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउन तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ । निर्माण कम्पनीले रु १० लाख दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरक्षिक शाहीले बताए ।
पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरुप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।