०५ साउन २०८३, मंगलबार

सुनसरी अस्पतालमा गुणस्तरीय सेवा, चिकित्सकको इमान्दार प्रयासले फेरियो छबि

कात्तिक १३, २०७९
सुनसरी अस्पतालमा गुणस्तरीय सेवा, चिकित्सकको इमान्दार प्रयासले फेरियो छबि

कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छबिलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एकाबिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भए पनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । 

लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरूको चंगुलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभूति गर्न पाएका छन् । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टरसहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणासमेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडि एक जिद्दी डाक्टरको भूमिका अहम् रहेको स्थानीयहरू बताउँछन् । 

डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पतालमा कायापलट भएको स्थानीय निर्धक्क बताउँछन् । उनको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन् सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दूरावस्था यतिबेला पनि रहिरहने जिकिर गरे । उनले हरेक क्षेत्रमा सुधारको लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महसुस गरेको बताए । उनले स्थानीयहरू अहिले व्यापक भ्रष्टाचारको ठाउँमा उपचार पाएसँगै खुशी भएको बताए । 

त्यस्तै, सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । उनी मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउँछिन् । 

अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रूपमा हेरिएको छ । कुनै समय औषधि खरिदलगायत प्रशासनिक खर्च अपादर्शी हुने गरेको, आर्थिक अनियमिततामा रुमल्लिएको भनेर आरोप खेप्दै आएको थियो । अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ । 

प्राथमिक उपचार गराउनसमेत बिरामीहरू जान नचाहने अस्पतालले यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पतालप्रतिको विश्वसनीयता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ । 

जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे जिद्दी डाक्टरको रूपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा जिद्दी रहेको बताए । 

सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोशी, हरिनगर, गढी, देवानगञ्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरू उपचार गराउन आउने गरेका छन् । अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्