
गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सारेको छ । पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको संकल्प-पत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुदलगायतका क्षेत्रमा महत्वपूर्ण योजनाहरू समावेश गरिएको छ ।
निर्वाचन क्षेत्र, जिल्ला, छिमेकी जिल्लाहरूको मात्रै नभई सिंगो मुलुकको विकासमा समेत दीर्घकालीन प्रभाव पार्न सक्ने महत्वपूर्ण योजनाहरू समावेश गरेर गठबन्धनले आइतवार भैरहवामा आयोजित एक कार्यक्रमबीच ६७ बुँदे संकल्प–पत्र सार्वजनिक गरेको हो । क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार छन् । यस्तै, प्रदेश (क)मा लोसपाका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा कांग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन् ।
गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशीघ्र निर्माण गर्न पहल गर्ने उल्लेख छ ।
त्यस्तै, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न शहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइनेजस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ ।
यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशीघ्र डीपीआर गरी निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन् ।
यसैगरी पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशीध्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मा.वि., सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नति र प्राविधिक विषयमा थप कार्यक्रम सञ्चालन गर्न विशेष पहल गर्ने संकल्प पत्रमा उल्लेख छ ।
संकल्प पत्रमा पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशीघ्र सञ्चालन गर्ने उल्लेख छ ।
संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले आफूहरूले पूरा गर्न सकिने योजना मात्रै समावेस गरिएको जनाए । ‘हामीले अघि सारेका योजनाले सिंगो रुपन्देहीको मात्रै नभई समग्र मुलुकको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ’, उनले भने, ‘यी योजना कार्यान्वय गरेरै छाड्छौँ ।’