
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताएका छन् । आइतवार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक ‘एक बाघी’ लोकपर्ण समारोहमा बोल्दै उनले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री थापाले साहित्यकार संग्रौला आफू सरहका कांग्रेसी नेताहरूको पनि गुरु भएकाले उनको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरूले सिक्नुपर्ने कुराहरू धेरै रहेको बताए । उनले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायविरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताए । उनले साहित्यकार संग्रौलाको नयाँ पुस्तक ‘एक बाघी’ कोही एक व्यक्तिको जीवनमा आधारित नभई समय र समाजले बुझ्नुपर्ने कुराहरू समेटेको पाएको बताए ।
उनले भने, ‘खगेन्द्र संग्रौला कांग्रेस त हुँदै होइन, त्यसमाथि कालो कांग्रेस हुने कुरै भएन । तर, मेरो उमेर समूहका थुप्रै कालो कांग्रेसीले खगेन्द्र संग्रौलालाई गुरू मान्छन् । प्रश्न गर्न र बाघी हुन हामीलाई खगेन्द्र संग्रौलाले सिकाउनुभयो । उहाँसँग चिया खाँदासमेत धेरै कुरा सिकेँ । व्यक्तिको सोचमा समय र समाजको प्रभाव त हुन्छ तर संगतको प्रभाव पनि हुन्छ ।’
महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरूले समाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताए ।