२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र पुलिसको विजयी शुरुवात

कात्तिक १३, २०७९
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र पुलिसको विजयी शुरुवात
फाइल तस्वीर

विभागीय टोलीद्वय एपीएफ क्लब र नेपाल पुलिस क्लबले आइतवारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले बागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो । यससँगै दुवै विभागीय टोलीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेका हुन् । 

पहिला ब्याटिङ गर्दै एपीएफले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो । ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यक्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । 

२ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले तेस्रो विकेटसम्म १ सय ४२ रन बनाएको थियो । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । आर्मीविरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपीएफका लागि अमर रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले ४७.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो । पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए । लोकेश बम शून्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए । 

एपीएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे । बलिङतर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७.४ ओभरमा २३ रन खर्चिएका थिए । यस्तै, साहब आलम र कुशल मल्लले २÷२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १÷१ विकेट निकाले ।

प्रतियोगिताअन्तर्गत आइतवार नै सम्पन्न अर्को खेलमा पुलिसले बागमतीलाई ९७ रनमा रोक्यो । २ सय ९० रनको लक्ष्य पछ्याएको बागमती २८ ओभरमा समेटिएको थियो । 

मूलपानी क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको बागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो । रामनरेश गिरीले अविजित २२ तथा प्रतिष जिसीले १४ रन बनाउँदा नन्दन यादव १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ४ रनमै पभेलियन फर्किए । पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । करण केसी, गुलसन झा र सागर ढकालले २÷२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनिङ खेले । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए । योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । पवन सर्राफ १५ रनमा अविजित रहँदा दिलीप नाथले अविजित १२ रन जोडे । 

बागमतीका नन्दन यादवले २ विकेट लिए । रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाको नाममा १/१ विकेट रह्यो । 

जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ । बागमतीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुँदा मूलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्