०८ साउन २०८३, शुक्रबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

कात्तिक १४, २०७९
सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख घटनाक्रमसहित उपस्थित भएका छौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन् । आइतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन् । सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा अर्चना गरेका छन् । मधेससहित देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइन्छ भने सोमाबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुन्छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीपनि छठपूजामा सहभागी भएकी थिइन् । 
००००
नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।  चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचाररत उनमा दिमाग (ब्रेन) मा रक्त प्रवाह कम भएको बताइएको छ । 

अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानले कोइरालाको कोइरालाको ब्रेनमा रक्त प्रवाह कम भएको बताए ।  चिकित्सकीय भाषामा यसलाई टिआईए भनिन्छ । आत्तिनुपर्ने अवस्था नभएको भन्दै प्रधानले अन्य परीक्षण जारी रहेको जानकारी दिए ।  
अस्पतालको आकस्मिक कक्षसँगै रहेको ‘अब्जर्भेसन’ कक्षमा कोइरालालाई राखिएको छ ।
००००
सोमबार एकैदिन तीन वटा पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेका छन् । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।
००००
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले उम्मेदवारी स्थगित गरेको बताएका छन् । प्रतिनिधि सभाका उमेदवारद्वय नेपाली कांग्रेस (बिपी) का डा लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्र गुरूङले उम्मेदवारी स्थगित गरेर सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गरेका हुन् । यसबारे जानकारी दिन उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।
००००
भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका १० वर्षीय पवन महराको मृत्यु भएको घटनाका सम्बन्धमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।
परराष्ट्र मन्त्रालयले आइतवार भारतीय दूतावासमार्फत कूटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् । गृह मन्त्रालयले शनिवार सो घटनाका पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको थियो ।
००००
यसैबीच सो घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।
००००
निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजिव गुरुङलाई स्पष्टीकरण सोधेको छ ।  गुरुङले निर्वाचन खर्चका सम्बन्धमा उम्मेदवारी दर्ता गर्न जाँदा नै रक्सीमा १५ लाख खर्च हुने भन्दै अभिव्यक्ति दिएको आयोगको भनाइ छ ।
००००
अवरुद्ध विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ । गत असोज १९ गतेदेखि परेको अविरल वर्षाले बिगारेका संरचना पुनः निर्माण गरिएपछि सेवा सञ्चालन भएको हो । 
बाढीपहिराका कारण बिजुली बिग्रदा जुम्लाका झण्डै तीन हजार ग्राहक अन्धकारमा बस्न बाध्य भएका थिए ।
००००
झापाको मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।
उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो ।
००००
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आइतबार बोल्दै उनले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए ।
००००
नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको रुचीमा ६५ वर्षमा जेष्ठ नागरिक भत्ता दिने व्यवस्था घोषणा पत्रमा ल्याइएको कांग्रेसले बताएको छ । 
कांग्रेसको चुनावी घोषणा पत्रका सम्बन्धमा विस्तृतमा जानकारी दिन आइतवार कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा घोषणा पत्र तयारी समितिका सदस्य डा स्वर्णिम वाग्लेले सभापति देउवाको रुचीमा ६५ वर्षमा वृद्धा भत्ता दिने कार्यक्रम समावेश गरिएको बताए ।
००००
नेपाल प्रहरीमा ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त हुँदैछ । कात्तिक २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी रवीन्द्र धानुकले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । 
त्यसभन्दा अघि नै कात्तिक १४ गते प्रशासन विभागका प्रमुख एआईजी अरुणकुमार बीसी अवकाशमा जानेछन् । यी दुई एआईजी अवकाशमा गएसँगै यो महिनाबाट नेपाल प्रहरीमा ४ जना एआईजीको पद रिक्त हुँदैछ । यसअघि ५६ वर्षे उमेर हदका कारण २०७९ साउन २० गते एआईजी विश्वराज पोखरेलले अवकाश पाए । भदौ २३ गतेबाट एआईजी मुकुन्दराज आचार्य अवकाश पाएका थिए।
००००
पूर्वी नवलपरासीमा आइतबार बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु  भएको छ भने ३० जना घाइते भएका छन् । 
पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार(२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्