
नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध आज (सोमवार) सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्न भएको छ । काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध आज पक्राउ परेको २६ दिनपछि मुद्दा दर्ता गर्न लागिएको हो ।
प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार, त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी समेत गरिएको छ ।
यस्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै मागदाबी समेत गरिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो । प्रहरीले लामिछानेविरूद्ध होटलका सीसीटीभी फुटेज, बयान, अस्पतालको रिपोर्टलगायतलाई प्रमाणको रूपमा पेश गरेको छ ।
सन्दीपले युवतीले आफूलाई १८ वर्ष माथि उमेर भएको बताएको र उनकै आग्रहमा नगरकोट घुम्न गएको दाबी गर्दै आएका छन् । उनले बलात्कार नगरेको बयान दिएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
सन्दीपका तर्फबाट वकालत गरिरहेका अधिवक्ताहरूले आजै मुद्दा दर्ता गरेर थुनछेक बहस गर्न माग गर्ने बताएका छन् ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।