
अभिनेता दीपकराज गिरीले आइतवार फेसबुकमा एक स्टाटस लेख्दै ६० वर्ष कटेका उम्मेदवारलाई आफूले मतदान नगर्ने घोषणा गरे । उनको स्टाटस थियो, ‘सबै फूल गुलाब हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’
यो स्टाटसका कारण यतिबेला दीपकराजको आलोचना भएको छ । उक्त स्टाटसमा थुप्रैले प्रतिक्रिया दिएका छन् । धेरै प्रतिक्रियाहरू आलोचनात्मक छन् ।
स्टाटसलाई लिएर आलोचना भएपछि दीपकराजले प्रष्टीकरण दिएका छन् । उनले स्टाटसमा प्रतिक्रिया जनाउँदै आलोचना गर्नेलाई स्पष्टीकरण दिएका हुन् । उनले लेखेका छन्, ‘आ–आफ्नो विचार राख्नु भएकोमा धन्यवाद । मुख्यतः ६० वर्ष काटेका विषयमा फरक मत पाएँ । मलाई थाहा छ, उमेर सक्षमता फरक कुरा हो । मेरो आशय जोश र जाँगर भएका युवालाई प्रत्यक्ष निर्वाचनमा पठाउनुहोस्, ६० काटेका अनुभवी नेताहरूले युवाहरूलाई सरकारमा पठाएर आफूले पार्टीको नेतृत्व गरेर आफ्नो अनुभव उनीहरूसँग साटेर बस्नुहोस् भन्ने हो । ८० वर्षको उमेरमा पनि अरुले बोकेर चुनाव क्षेत्रमा लानुपर्ने स्थितिमा किन चुनावमा लड्नु ? युवालाई प्रधानमन्त्री बनाएर आफू पार्टी हाँकेर बस्दा हुँदैन ? ६० काटेकाले राजनीति नै नगर्नुहोस् भन्या होइन । त्यसैले म नेता मान्दिनँ होइन भोट हाल्दिनँ भन्ने आशय हो ।’