
नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीको तीव्र आलोचनासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रमा केपी ओलीको दक्षिणपन्थी अवसरवादले समग्र राजनीतिप्रति नै जनतामा वितृष्णा उत्पन्न भएको उल्लेख गरिएको छ ।
‘निर्वाचनका बेला जनतासमक्ष गरिएका प्रतिबद्धताअनुरूप काम नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएकाले जनताको अपेक्षामाथि गम्भीर रूपमा कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीति प्रति नै वितृष्णा उत्पन्न हुन गयो’, घोषणा पत्रमा भनिएको छ ।
तत्कालीन ओली सरकारले २०७४ को चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसारको काम नगरेको, दक्षिणपन्थी अवसरवादमा फसेको आरोप एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
पूर्व–पश्चिम मेगा नहर
घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थानहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले घोषणा पत्रमा उल्लेख गरेको छ ।
विदेशबाट फर्केकालाई १० लाख ऋण
विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निव्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न योजना एकीकृत समाजवादीको घोषणा पत्रमा उल्लेख छ ।
त्यसैगरी, एकीकृत समाजवादीले भू–उपयोग नीतिमा परिमार्जन गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरेको छ ।
‘घर–घरमा बिजुली–जनजनमा शेयर’को नारा घोषणा पत्रमा उल्लेख छ ।