३१ असार २०८३, बुधबार
हवाई उडान

वायुसेवा निगमको उडान अस्तव्यस्त : ४ अन्तर्राष्ट्रिय उडान रद्द, आन्तरिकमा जहाजै नभएर ठप्प

कात्तिक १४, २०७९
वायुसेवा निगमको उडान अस्तव्यस्त : ४ अन्तर्राष्ट्रिय उडान रद्द, आन्तरिकमा जहाजै नभएर ठप्प

नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त भएको छ । आइतवार निगमको काठमाडौं–दिल्ली उडान नेपाल नागरिक उड्डयन प्राधिकरणले रद्द गरिदियो भने सोमवार दिउँसोको पनि उडान रद्द भएको छ । 

आइतवारबाट लागू भएको ‘विन्टर सेड्युल’मा निगमले तोकेको भन्दा बढी उडान तालिका राखेकोले रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार निगमले सातामा ७ वटा उडान गर्दै आएकोमा आइतवारबाट २ वटा कटौती भएको छ । निगमले उडान अनुमति पाएको भन्दा बढी तालिका राखेको र यात्रुलाई विमानस्थल बोलाएर दुःख दिएको भन्दै निगमलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेरै निगमको लापर्वाहीका कारण उडान हुन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणले उडान नभएको समयमा यात्रु बोलाएर दुःख दिएको तथा हवाई उड्डयनमै नकारात्मक छबि बनाएको भन्दै स्पष्टीकरण सोधेको उल्लेख गरेको छ ।

कुनै पनि वायुसेवाले प्राधिकरणको अनुमति विना उडान गर्न नपाउने व्यवस्थाविपरीत निगमले उडान तालिका राखेको प्राधिकरणको भनाइ छ ।  प्राधिकरणले आइतवार र सोमवारको दुई वटा काठमाडौं–दिल्लीको दुईतर्फी उडान रद्द गरिदिएको छ । यही उडान रद्द भएका कारण निगमका यात्रुले दुःख पाएका छन् भने निगमलाई नियमित उडानमा व्यवस्था मिलाउन गाह्रो भएको छ । 

निगमले आइतवारका यात्रुलाई होटलमै राखेको र सोमवार अर्को वायुसेवामार्फत उडाएको भए पनि तालिका अनुसार नहुँदा यात्रुले दुःख पाउने र अस्तव्यस्तता बढेको छ ।

निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेका अनुसार तोकिएको तालिकाअनुसार नै उडान गर्न खोजेको बताएका छन् । उनले भने, ‘सातामा प्राधिकरणले दिएकै तालिकाभित्र रहेर उडान गर्ने गरी निगमले तयारी गरेकोले यात्रु बोलाएर आइतवार बोर्डिङ पास पनि गराइसकिएको दिल्ली उडान रद्द भयो । सोमवार दिउँसोको पनि सोही गन्तव्यको उडान रद्द भएको छ ।’

जहाजविहीन हुँदा आन्तरिक उठान ठप्प

निगमको आन्तरिक उडान भने जहाजविहीन भएका कारण ठप्प भएको छ । सोमवारका लागि तोकिएको अन्तरिक उडान सबै रद्द भएको छ । आन्तरिक उडानमा २ वटा जहाज मात्रै छन् । एउटा जहाज बिग्रिएर थन्किएकाले अर्को एउटाले मात्रै उडान गरिरहेको थियो । चलिरहेको जहाज पनि थन्किएपछि निगमले सोमवार उडान नै नगरेको निगमले जानकारी दिएको छ । निगमले दुर्गम क्षेत्रका जनतलाई सेवामूलक उडान गर्दै आएको छ ।

चिनियाँ जहाज भाडामा गएन, अब बिक्री गरिने 

वायुसेवा निगमले ४५ दिन अगाडि चिनियाँ जहाज भाडामा दिने सार्वजनिक प्रस्ताव आव्हान गरेको थियो । चिनियाँ जहाज भाडामा लिन कुनै पनि पक्ष इच्छुक देखिएन । भाडामा दिन निगमले दिएको ४५ दिने समयसीमा आज (सोमवार) सकिँदैछ । आजसम्म कसैले रुची नदेखाएकोले थप १५ दिनको समय दिइने भएको छ । निगमले १५ दिनको समय दिएर पुनः प्रस्ताव आव्हान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

थप दिएको समयमा पनि कसैले भाडामा लिन इच्छा नदेखाए बिक्री नै गर्ने तयारी निगमले गरेको स्रोतले बतायो । निगमका अनुसार भाडामा लिएर चलाउने आन्तरिक वायुसेवा कसैले इच्छा नदेखाएको र चासोसमेत नआएकोले औपचारिकताका लागि समय थप गरेर प्रस्ताव माग गरिने भए पनि बिक्रीकै लागि पनि एकैसाथ तयारी हुँदैछ । थपिएको समय सकेपछि बिक्री गर्ने विषयमा अर्को प्रस्ताव आउने पनि निगमले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्