०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्री कप : पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

कात्तिक १४, २०७९
प्रधानमन्त्री कप : पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात
फाइल तस्वीर

विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमवार भएको खेलमा नेपाल पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकाल्दा अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ६९ रनको जित निकालेको हो । 

प्रदेश १ माथि सानदार जित निकालेको विभागीय टोली पुलिसले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यसअघि आइतवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई हराउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको थियो । जारी प्रतियोगितामा सुखद् शुरुवात गर्ने क्रममा गण्डकीले सुदूरपश्चिमलाई १ सय ३९ रनमा समेट्यो । गण्डकी प्रदेशले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा समेटिएको थियो । 

सुदूरपश्चिमका लागि मिलन बोहोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । बोहोराले ६४ बलको सामना गर्दा ३  चौका र १  छक्का प्रहार गरेका थिए । उनका अलावा ओपनर गजेन्द्र बोहोराले ३५ तथा वसन्त कार्कीले १० रनको पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा गण्डकीका विपिन खत्रीले सर्वाधिक ४ विकेट निकाल्दा सुवास भण्डारी र अभिषेक बस्नेतले समान २÷२ विकेट आफ्नो नाममा लेखाए । यस्तै अमृत गुरुङ र कमल परियारले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । उसका लागि ओपनर अर्जुन कुमालले ६३ रनको व्यक्तिगत पारी खेले । १ सय ५ बलको सामना गरेका कुमालले १० चौका प्रहार गरेका थिए । यस्तै अर्का ओपनर समिर कँडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५÷२५ रनको योगदान गरे । यस्तै सन्दीप क्ष्ोत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे । गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २÷२ विकेट लिए । यस्तै नरेन साउदले एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सोमवार नै भएको अर्को खेलमा पुलिसले प्र्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए । शंकर रानाले २९ रन जोडे । राशिद खानले अविजित १६ तथा दीपेन्द्र सिंह ऐरीले अविजित १४ रन बनाए । सुनिल धमला शून्य रनमा आउट भए । 

प्रदेश–१ का फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो । प्रदेश–१ का लागि निरज मुखियाले २९ रन जोड्दा अंकित सुवेदीले २४ रन बनाए । विवेकआनन्द मेहेताले १७ रन जोडे । पुलिसका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए । यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । प्रदेश–१ ले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । मूलपानीमा हुने खेलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेश तथा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमती प्रदेश र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्