२५ असार २०८३, बिहीबार

चितवन– ३ : संघमा मैदान खाली गरेको एमालेबाट प्रदेशतर्फ माहोल बनाउँदै विष्ट र भुर्तेल

कात्तिक १५, २०७९
चितवन– ३ : संघमा मैदान खाली गरेको एमालेबाट प्रदेशतर्फ माहोल बनाउँदै विष्ट र भुर्तेल

चितवन क्षेत्र नम्बर ३ मा संघ (प्रतिनिधिसभा)तर्फ उम्मेदवारी फिर्ता लिए पनि प्रदेशसभाका दुवै क्षेत्रमा स्थानीयमाझ परिचित उम्मेदवार अगाडि सारेर नेकपा एमाले चुनावी मैदानमा होमिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिए पनि पार्टीले उनको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी दिनेश कोइरालालाई सघाएको छ ।

संघमा सूर्य चिह्नबाहक उम्मेदवार नभए पनि त्यस क्षेत्रका एमाले नेता, कार्यकर्ता र शुभचिन्तकहरूले प्रदेशमा भने आफ्नै चिह्नमा मतदान गर्न पाउने छन् ।

एमालेले चितवन ३ (१)मा निवर्तमान प्रदेश सांसद कृष्ण भुर्तेल र ३ (२) मा परिचित महिला नेत्री सरस्वती विष्टलाई उम्मेदवार बनाएको छ । 

अघिल्लोपटक वाम गठबन्धन हुँदा चितवन ३ मा एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सघाएको थियो भने प्रदेशसभातर्फ ३ (१) मा एमाले र ३ (२)मा माओवादीका उम्मेदवार थिए ।

यसपटक ३ (१) मा एमालेबाट पुरानै उम्मेदवार दोहोरिएका छन् भने ३ (२) मा डेब्यु उम्मेदवार भए पनि जनतामाझ परिचित महिला नेत्री चुनावी मैदानमा छिन् ।

चितवन ३ (१)– अनुभवी राजनीतिक व्यक्तित्व

२०३७ चैत १४ गते अनेरास्ववियु पाँचौंको झण्डा बोकेर आमहड्तालमा सहभागी भएका भुर्तेल त्यसयता प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पार्टी राजनीतिमा सक्रिय छन् ।

२०५४ सालमा शिक्षकको स्थायी जागिर छाडेर सक्रिय राजनीतिमा होमिएका उनी सोही वर्ष भएको स्थानीय निकाय निर्वाचनमा मेघौली गाविसको अध्यक्ष पदमा निर्वाचित भए ।

सक्रिय राजनीतिमा आउनुअघि उनी लक्ष्मी मावि लंकुमा स्थायी शिक्षक पदमा कार्यरत थिए । त्यहाँ अंग्रेजी र सामाजिक विषय पढाउँथे ।

गाविस अध्यक्ष बनेपछि जनप्रतिनिधिको हैसियतमा स्थानीय जनताको सेवामा त खटे नै, जिल्ला कमिटी सदस्य बनेर पार्टी राजनीतिलाई पनि सँगै अगाडि बढाए ।

२०६१ सालमा पार्टीको जिल्ला सचिवालय सदस्य चुनिएका भुर्तेल २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित भए ।

तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार भुर्तेलले २४ हजार ७८५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत प्राप्त गरेका थिए । 

कोइराला तिनै व्यक्ति हुन्, जसले कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका छन् । उनलाई नै समर्थन गर्नेगरी एमालेले चितवन– ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी फिर्ता लिएको छ ।

भुर्तेल सक्रिय राजनीतिसँगै अन्य सामाजिक काममा पनि व्यस्त रहे । उनी राष्ट्रिय निकुञ्जहरूको केन्द्रीय सञ्जालको अध्यक्ष समेत बनेका थिए ।

भुर्तेलका भावी योजना

अनुभवी र स्थानीयमाझ परिचित राजनीतिज्ञको छवि बनाएका भुर्तेलले विगतका अधुरा काम पूरा गर्ने कुरालाई मुख्यरूपमा अगाडि सारेका छन् ।

प्रदेशसभालाई अधिकारसम्पन्न र कर्तव्यमुखी बनाउन भूमिका खेल्ने कुरा पनि उनको चुनावी एजेन्डा छ ।

नारायणी र रापती नदीको कटान नियन्त्रण गर्ने, मेघौली एयरपोर्टलाई कालोपत्रे गरी पर्यटकीय एयरपोर्ट बनाउने, अघिल्लो कार्यकालमा प्रदेश सरकारले अगाडि सारेको योजनाअन्तर्गत मेघौलीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, राइनो पार्क निर्माण सम्पन्न गर्ने, बजार क्षेत्रमा ढलको व्यवस्था गर्ने, सामुदायिक वनमा पर्यटकीय पार्क बनाउने, निर्माणाधीन दुई रंगशालालाई पूरा गर्ने आदि एजेन्डा पनि भुर्तेलले अगाडि सारेका छन् । 

चुनावी अभियानका लागि जनतामा पुग्दा आफूले एकदमै सद्भाव पाइरहेको भुर्तेलले बताए ।

‘यो क्षेत्रमा परिचयका लागि मलाई कुनै समस्या छैन । अहिले संघमा सूर्य चिह्नको उम्मेदवार नभए पनि प्रदेशमा दुवै क्षेत्रमा सूर्य चिह्नमा मतदान गर्न पाउँदा मतदाता खुशी नै हुनुहुन्छ, जनताबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु,’ भुर्तेलले लोकान्तरसँग भने ।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सूर्यकान्त घिमिरे मैदानमा छन् ।

चितवन ३ (२)– जनतामा भिजेकी महिला उम्मेदवार

चितवन क्षेत्र नम्बर ३ (२) की एमाले उम्मेदवार सरस्वती विष्ट जनतामा एकदमै भिजेकी र स्थानीयसँग सुखदुःख साटासाट गर्दै आएकी लोकप्रिय महिला नेत्री हुन् ।

पार्टीका तर्फबाट बाग्मती प्रदेशसभाका लागि एक मात्र महिला उम्मेदवार हुनुले पनि उनको राजनीतिक महत्त्व दर्शाउँछ । 

२०४१ सालमा अनेरास्ववियु (राष्ट्रिय एकताको पाँचौं राष्ट्रिय महाधिवेशन)को प्रारम्भिक कमिटीमा आबद्ध भएर राजनीतिमा पाइला चालेकी विष्टले माडी मावि वसन्तपुरको प्रा.क. सदस्य हुँदै कोषाध्यक्षसम्म भएर काम गरिन् ।

२०४३ मा अनेमसंघको सदस्यता लिएकी उनी वडा, गाउँ, जिल्ला कमिटी हुँदै हाल अनेमसंघ केन्द्रीय कमिटीको सदस्य छिन् ।

२०४४ बाट शिक्षण पेशा शुरू गरेकी उनले नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्य हुँदै जिल्ला उपाध्यक्ष समेत भएर काम गरिन् । 

पार्टी राजनीतिमा भने उनी २०४७ सालबाट प्रत्यक्ष रूपमा जोडिएकी हुन् । पार्टीको वडा, गाउँ, नगर कमिटी हुँदै ४ कार्यकालसम्म उनी जिल्ला कमिटी सदस्य रहिन् । हाल प्रदेश कमिटी सदस्य छिन् ।

सानैदेखि राजनीतिक वातावरणमा हुर्किएकी विष्ट पञ्चायतकालमा नेताहरूलाई संरक्षण गर्न र पत्रहरू आदानप्रदानमा भूमिका खेलेको सम्झिन्छिन् ।

‘भूमिगत कालमा पञ्चायतविरोधी आन्दोलनमा सक्रिय वामपन्थी नेताहरू घरमा आउनुहुन्थ्यो । उहाँहरूको सुरक्षाका लागि घरबाहिर बसेर पहरेदारी गरेको सम्झना आउँछ,’ विष्टले भनिन्, ‘नेताहरूले त्यहाँ बसेर विभिन्न निर्णयहरू गर्नुहुन्थ्यो, त्यससम्बन्धी पत्र आदानप्रदानको काम पनि हामीले गर्थ्यौं ।’

२०४३ सालमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटुवालको चुनाव प्रचारमा सक्रिय भएको सम्झना पनि उनलाई छ । 

शिक्षण पेशामा रहेर उनले लामो समय काम गरेकी छन् । २०४४ सालबाट एक वर्षसम्म निःशुल्क अध्यापन गरेपछि ४ वर्षसम्म अस्थायी शिक्षकको रूपमा काम गरिन् । त्यसपछि स्थायी शिक्षकको रूपमा काम गरेर २०७१ सालमा 'रिटायर्ड' भएकी हुन् । उनी शिशु कल्याण निमावि स्याउलीबास माडीमा पढाउँथिन् ।

शिक्षण र राजनीतिसँगै सामाजिक कार्यमा उनको सक्रियता पनि उल्लेख्य रह्यो ।

लामो समयदेखि रेडक्रसमार्फत सामाजिक काममा सक्रिय उनी हाल रेडक्रसको विशिष्ट सदस्य एवं कल्याणपुर उपशाखाको उपसचिव समेत छिन् ।

महिला, बालबालिकालाई न्यायको पहुँचमा पुर्‍याउन पनि उनले उल्लेख्य काम गरेकी छन् । त्यसक्रममा पारालिगल कमिटीको जिल्ला उपसचिव समेत भइन् ।

विष्टका भावी योजना

चितवन क्षेत्र नम्बर ३ (२) को अधिकांश भूगोल राष्ट्रिय निकुञ्जले घेरिएको छ । निकुञ्जको आफ्नो महत्त्व त छ, तर त्यसका कारण स्थानीयले भोग्नु परेका सास्ती पनि प्रशस्तै छन् ।

‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का कारण निकुञ्ज र मानव बस्तीबीच अन्तरद्वन्द्वको अवस्था छ । यसका कारण स्थानीय जनताले विभिन्न किसिमका समस्या झेल्नुपरिरहेको छ,’ विष्टले भनिन्, ‘उक्त ऐनमा संशोधन गरेर जनताका समस्या समाधान गर्ने मेरो मुख्य एजेन्डा हो ।’

रिउ कोरिडोरको निर्माण सम्पन्न भएपछि पनि वन्यजन्तुका कारण सिर्जित समस्या केही कम हुने उनको विश्वास छ । ‘रिउ कोरिडोरमा ठूल्ठूला सवारी साधन आवतजावत गर्ने बाटो बनेपछि वन्यजन्तु बस्तीमा आउने समस्या केही कम हुनेछ, सोही कारण यो कोरिडोर पनि मेरो प्राथमिकतामा छ,’ उनले थपिन् ।

राप्ती र रिउको कटान समस्या दीर्घकालीन रूपमा समाधान गर्ने, जनमुखी कृषि प्रणाली अवलम्बन गराउने र उत्पादित अन्नबालीको बजार व्यवस्थापन गर्ने तथा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा काम गर्ने योजना समेत रहेको उनले बताइन् ।

महिला, बालबालिका र पिछडिएको क्षेत्रलाई थप अधिकार सम्पन्न बनाउन ऐन निर्माण र संशोधनको काममा पनि भूमिका खेल्ने उनको भनाइ छ ।

स्थानीय स्तरमा निकै परिचित उम्मेदवार भएकाले पनि उनले मतदाताबाट निकै राम्रो प्रतिक्रिया पाइरहेकी छिन् ।

‘म जन्मे/हुर्केको, कर्म गरेको ठाउँ यही नै हो, त्यसकारण पनि माहोल एकदमै राम्रो छ,’ विष्टले भनिन्, ‘संघ र प्रदेशको चुनावमा यो क्षेत्रले पार्टीको उम्मेदवार पाएको थिएन, अहिले सूर्य चिह्नमा मतदान गर्न पाउँदा स्थानीय जनता एकदमै खुशी हुनुहुन्छ ।’

यस क्षेत्रका सम्पूर्ण समस्यासँग परिचित उम्मेदवार भएकाले पनि आफूलाई सहज रहेको उनको भनाइ छ ।

स्थानीय मतदाता पनि यस क्षेत्रमा उनको राम्रो प्रभाव रहेको बताउँछन् । ‘उहाँ यहाँ परिचित उम्मेदवार हो, पार्टीको मात्र नभएर बाहिरको मत समेत आकर्षित गर्नुहुने देखिन्छ,’ माडीका एक मतदाताले भने । 

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का ठाकुरप्रसाद ढकाल र राप्रपाबाट रीना गुरुङ मैदानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्