
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् । मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन् ।
उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरूलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए । निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनविरोधी र राष्ट्रविरोधी हर्कत गर्ने विश्वकर्माले बताए । उनले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने, तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरूलाई गाउँ–गाउँबाट लखेट्ने बताए ।
‘यो चुनाव नौटंकी हो । पाँच वर्ष भ्रष्टाचार र कमिसन, राष्ट्रघात र जनघात गरेर सर्वाङ्ग भएका तत्वहरूलाई फेरि सुनपानी छर्ने हो यहाँ । केही नयाँ ल्याएर केही पुरानालाई सुनपानी छर्ने हो । अब तिनीहरू जितेर आए भने के गर्छन् भन्दा अहिलेको भन्दा डरलाग्दो जनविरोधी हर्कत गर्छन् । राष्ट्र विरोधी हर्कत गर्छन् । त्यसो भएको हुनाले यो चुनावलाई आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टीले सशक्त रूपले खारेज गरेर जाने नीति अगाडि सारेका छौँ’, विश्वकर्माले भने, ‘काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने, अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रवादी नेता हुँ भनेर जाने तत्वहरूलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडि सारेको कार्यनीति हो । एकपटक हामी जनसंघर्ष गर्छौं ।’
प्रवक्ता विश्वकर्माले दलहरूले घोषणापत्रमा नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा राखेको उल्लेख गर्दै ‘दूधको साक्षी बिरालो’ भएको टिप्पणी गरे । सबैभन्दा बढी भ्रष्टले सम्पत्ति छानबिन गर्ने कुरा गर्नु जनतालाई मूर्ख बनाउनु भएको उनको भनाई छ ।
‘यो देशमा राजनीति गर्नेहरूले, व्यवसायीहरूले जति नै पैसा जम्मा पारेका छन् अथवा धनी भएका छन् । तिनको स्वामित्वमा पैसा छ । त्यो सबै छानबिन गर्ने भन्दैथे हिजो केही पार्टीका घोषणापत्र सार्वजनिक हुँदा । यो त दूधको साक्षी बिरालो भयो । जो सबभन्दा बढी भ्रष्ट र सबभन्दा बढी यो देशको सम्पत्ति कुम्ल्याएर बसेका छन् उनी मान्छेले सम्पत्ति छानबिन गर्ने भन्छन् । जनतालाई मूर्ख बनाउने । श्रम गर्नु छैन । उत्पादन गर्नु छैन । जनतालाई लुटेको छ । अनि विदेशीहरूबाट भिख मागेको छ, खाएको छ । यस्तो स्थिति देशमा छ’, उनले भने ।
उनले पार्टीका केन्द्रदेखि गाउँ कमिटीसम्मका नेताले हरेक दुई महिनामा एकपटक भौतिक श्रम गर्ने र उक्त श्रमबाट प्राप्त रकम केन्द्रमा पठाउनुपर्ने नीति पार्टीको रहेको उल्लेख गरे । त्यस्तै शहीद तथा बेपत्ता परिवारका सेवाका लागि ५ लाखको केन्द्रीय कोष खडा गरिने पनि जानकारी दिए । प्रवक्ता प्रकाण्डले पार्टीका नेता, कार्यकर्ताले परम्परादेखि चल्दै आएका पुराना जातिहरूको अन्त्य गरी नयाँ मानव जातिको निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने र हरेकले नामका पछाडि सी लेख्ने निर्णय भएको पनि बताए ।