१७ असार २०८३, बुधबार

कार्टुनिष्ट क्लबले काउन्सिलको स्पष्टीकरणको अवज्ञा गर्ने

कात्तिक १५, २०७९
कार्टुनिष्ट क्लबले काउन्सिलको स्पष्टीकरणको अवज्ञा गर्ने

कार्टुनिष्ट क्लब नेपालले नागरिक दैनिकमा प्रकाशन भएको कार्टुनका सन्दर्भमा प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरणप्रति असहमति जनाउँदै अवज्ञा गर्ने जनाएको छ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीको नेतृत्वमा गएको कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलवार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ ।

नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रर्दशन गर्नु नै  कार्टुनको उद्देश्य रहेको बताए । उनले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग रहेको भन्दै काउन्सिलको स्पष्टीकरणले पत्रकारितालाई निरुत्साहन गर्ने बताए । 

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको उत्कृष्ट विधा कार्टुनलाई रोक्ने मनसाय नरहेको स्पष्ट पारे । उनले काउन्सिल सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै संस्थाबाट कहीकतै कमीकमजोरी भए सच्याउन सकिने बताए । 

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले कार्टुन भनेको व्यंग्य गर्ने विषय नै भएका कारण यसका विषयमा प्रश्न गर्न नहुने बताए । उनले कार्टुनमा प्रस्तुत भएको विषयले सम्बन्धित व्यक्तिले सार्वजनिक भाषणमा दिएका अभिव्यक्तिलाई समेटिएको हुँदा आपत्ति जनाउन आवश्यक नरहेको बताए । 

नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले प्रकाशन भएको कार्टुनका विषयमा स्पष्टीकरण सोध्नु प्रेस स्वतन्त्रतामाथि नै शंका उत्पन्न भएको बताए । उनले प्रेस काउन्सिल नेपालजस्तो संस्था पत्रकार र प्रेस स्वतन्त्रताको हितमा क्रियाशील हुनुपर्नेमा अनुशासनको डण्डा घुमाउन नहुने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, कार्टुनिष्ट क्लब नेपालका महासचिव रवि मिश्र र वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले धारणा राखे । 

कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधि र महासंघबीच भएको छलफलमा प्रेस काउन्सिल नेपालले नागरिक दैनिकलाई २०७९ कार्तिक ३ गते सोधेको स्पष्टीकरणका विषयमा अवज्ञा गर्दै आइन्दा त्यस्ता गल्ती नगर्न प्रेस काउन्सिललाई सचेत गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्