
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कन्चनपुर चाँदनी ६ घर भई सुकेधारा बस्ने सुरेन्द्रबहादुर सिंहविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
सिंहले अवैध विदेशी मुद्राको कारोबार, जुवालगायतका गैरकानूनी कारोबारबाट सम्पत्ति आर्जन गरेको भन्दै विभागले मुद्दा दर्ता गरेको हो । विभागको अनुसन्धानबाट उनले विभिन्न गैरकानूनी कार्यबाट २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ आर्जन गरेको देखिएको छ । विभागले सोही बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको हो ।
सिंहविरुद्ध अवैध मुद्रा (भारतीय रुपैयाँ र अमेरिकी डलर) को कारोबारसम्बन्धी कसूर, जुवासम्बन्धी कसूरमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको विभागले जनाएको छ । अवैध कारोबारबाट प्राप्त रकमको स्रोत देखाउन नसकेपछि सिंहले स्रोत परिवर्तन गरी पत्नी शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा समेत सम्पत्ति राखेको देखिएको विभागले दाबी गरेको छ । विभागले उनको पत्नी र छोराको नाममा रहेको सम्पत्ति रोक्का गर्न माग गरेको छ ।
सिंहको अवैध कारोबारमा सहयोग गरेको भन्दै विभागले जयन्ती थापा मगरलाई पनि प्रतिवादी बनाएको छ । विभागका अनुसार मगरले सिंहको सम्पत्ति गिल्ट इन्भेष्टमेन्ट प्रालिसँग २५ करोड रुपैयाँमा खरिद बिक्री गरेको कागजात बनाउन सहयोग गरेकी थिइन् ।
विभागले गिल्टको बैंक खाता रोक्का गर्न पनि माग गरेको छ ।

