
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनक्रमसहित उपस्थित भएका छौँ–
००००
नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेका २० ग्यारेन्टी उल्लेख गरिएको छ ।
एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ ।
समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने, हिउँदमा ३० र वर्षा याममा ५० युनिट विद्युत् निःशुल्क दिनेलगायतका ग्यारेन्टी एमालेले गरेको छ ।
००००
ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा कुमार चुडालको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ । डा कार्कीले नियमित पारिश्रमिक लिएको नदेखिएकाले लाभ लिएको मान्न नमिल्ने ठहर सर्वोच्चको छ ।
००००
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । मंगलवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोग पत्र दायरपछि अदालतमा मंगलवार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका अधिवक्ता मुरारी सापकोटाले बताए ।
००००
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई डिजेलको मूल्य बढाएर पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल प्रतिलिटर ६ रुपैयाँ बढेर आएको छ ।
यस्तै पेट्रोल प्रतिलिटर ६० पैसा बढेर आएको निगम स्रोतले जानकारी दियो ।
००००
पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ ।
भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले मंगलबारदेखि डोजर लगाउन सुरु गरेको हो ।
सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।
००००
तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा मंगलबारदेखि क्लिंकर उत्पादन शुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम शुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार म्याट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।
००००
सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ ।
सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकोमा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
००००
मंगलवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । सोमवार १६ अंकले बढेको नेप्से परिसूचक मंगलवार ५६.११ अंकले वृद्धि भएर १९३०.९९ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ ।
००००
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् । मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन् ।
उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरूलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए ।
००००
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार तथा उपकरणहरु व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई ४५ दिनको समयसीमा दिएको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
००००
आचरण विपरीत काम गर्ने २ जना सशस्त्र प्रहरी कर्मचारीलाई निलम्बन गरी विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।
००००
नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
अध्यक्ष निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।