०२ असार २०८३, मंगलबार

डोटीमा बढ्दै व्यावसायिक सुन्तला खेती

कात्तिक १६, २०७९
डोटीमा बढ्दै व्यावसायिक सुन्तला खेती

डोटीको दिपायलमा कृषकले व्यावसायिक सुन्तला खेती बढाएका छन् ।

थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेशा–व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् ।
 
किसानले परम्परागत रूपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायिकीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका–२ का तारा मटेलीले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।

उनले आफ्नो जमिनमा सानाठूला गरी सुन्तलाका करीब ५०० बोट लगाएका छन् । बाबुबाजेले अन्नबाली लगाउँदै आएको जमिनमा चाहेजस्तो आम्दानी नभएपछि सुन्तलालाई खेती गरी वार्षिक रूपमा ७ लाखदेखि ९ लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको उनले बताए ।

विभिन्न निकायको सहयोगमा सुन्तला खेती फस्टाउन समेत सहयोग भएको उनको भनाइ छ । ‘फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु,’ उनले भने, ‘राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यावसायिकीकरण गरेको हुँ ।’ यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।

अन्य खेतीमा पटक–पटक मेहनत गर्नुपर्ने भए पनि सुन्तला खेतीमा वर्षका १–२ पटक मलजल गरेपछि राम्रै फल पाइने बडीकेदार गाउँपालिका–४ का किसान चक्र जेठराले बताए । उनले हाल बारीमा सानाठूला गरी ७०० वटा सुन्तलाका बोट रोपेको र वार्षिक रूपमा ७ लाख आम्दानी गरिरहेको बताए । सडकको पहुँचबाट टाढा रहेको गाउँमा हाल उनले आफ्नो ४ लाख लगानीमा सडक निर्माण गरी उत्पादन गरिएका सबै वस्तुले सहज रूपमा बजारमा लैजान सकिरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्