
विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका १ पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन ।
गत महिना असोज २६ गते आइतवार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका शर्माका आफन्त विवेक शर्माले बताए ।
सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ ।
घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौं आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजंगल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापक रूपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।