
पोखरामा रगत अभाव भएको छ । दसैँ, तिहार, छठलगायतका ठूला चाडपर्वका कारण नियमित तालिकाअनुसारका रक्तदान कार्यक्रम नहुँदा रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको हो ।
केन्द्रमा रगत अभाव भएर अस्पतालमा उपचाररत बिरामीलाई आपूर्तिमा कठिनाइ हुन थालेपछि आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । पोखरा महानगरपालिका–५ पस्र्याङमा रहेको एभरेष्ट मिडिया हाउसले आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय ५१ युनिट रगत सङ्कलन भएको छ ।
क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव हुने अवस्था आएपछि आकस्मिक कार्यक्रम गर्नुपरेको बताए ।