
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् ।
विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहीवार आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शंका नगर्न आग्रह गरे ।
नेता कोइरालाले विराटनगरलाई व्यवस्थित शहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे । नगर भएर बग्ने २ खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने धारणा उनले राखे ।
केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न १४ अर्ब रुपैयाँको योजना अगाडि बढेको डा. कोइरालाले जानकारी दिए ।
उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागि समेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यकता औंल्याए ।