२७ जेठ २०८३, बुधबार

‘जंगली जनावरको आतंक नियन्त्रण गर्नेलाई मतदान’

कात्तिक १७, २०७९
‘जंगली जनावरको आतंक नियन्त्रण गर्नेलाई मतदान’

आगामी प्रतिनिधि र प्रदेश सभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन् । मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्साउँदैछन् । 

मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदैछन् । महाकाली पारी दोधारा चाँदनी नगरपालिका–१ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जंगली जनावरको आतंक नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताइन् । ‘बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रातदिन जाग्राम बस्नुपर्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ, सबैभन्दा बढी समस्याका रुपमा जंगली जनावरको आतंक छ ।’

वर्षौदेखि जंगली जनावरको समस्या झेल्दै आएको हरिनाले बताइन् । उनको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जंगल छ । ‘हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ’, उनले भनिन् । जंगलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ । स्थानीयवासीलाई जंगली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । 

वर्षाैंदेखि जंगली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी–१ कै जग्गु धामीले गुनासो गरे । ‘नेता चुनावका बेला आएर समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ’, उनले भन्ने, ‘तर, चुनावपछि फर्किएर पनि हेर्दनन्, अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जंगली जनावरको समस्या ज्यूँका त्यूँ छ ।’

दोधारा चाँदनी–३ की आशा राना क्षेत्री जंगलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्छिन् । ‘बालीनाली भएको बेला रातभरि सुत्न पाइँदैन’, उनले भनिन्, ‘जंगली हात्तीले बितण्डा मच्चाउँछ, बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ ।’ रासस

salt training

कमेन्ट गर्नुहोस्