
नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले छोटो दूरी भए पनि अर्को प्रदेश घुमेर जिल्ला सदरमुकाम जानुपर्ने लिखुपिकेबासीको समस्या दीर्घकालीन समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
लिखुपिके गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित गाउँपालिकाको समीक्षा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्नेक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा तर्फका उम्मेदवार मानवीर राई र प्रदेश सभा १(२) का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफूहरूले निर्वाचन जितेमा १२ महिनै समस्या नआउने गरी छिटोभन्दा छिटो दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सल्लेरीबाट तामाखानी–जसमाने भण्ज्याङ हुँदै लिखुपिके र सल्लेरीबाट टाक्टोर–लामाजुरा –भकाञ्जे हुँदै काठमाडौंसम्म पुग्ने सडकको ट्र्याक ओपन लिखुपिकेबासीको समस्याको अस्थायी समाधान भए पनि यसको दीर्घकालीन समाधान सडकको स्तरोन्नति भएको उनीहरूको भनाइ थियो । सदरमुकामबाट लिखुपिकेसम्मको सडकको ट्याक खोल्ने कार्यमा आफूहरूको पनि योगदान रहेको बताउँदै उम्मेदवारद्वयले आफ्नै कार्यकालमा यसको स्तरोन्नति गर्ने चाहना रहेको बताए ।
सोही कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनभन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नवप्रवेशी पेम्बाछिरी शेर्पा, विजय घिमिरे, तिलकबहादुर श्रेष्ठ, निकुल श्रेष्ठ, मानबहादुर बस्नेत, सावित्री श्रेष्ठ र वाङछु शेर्पालगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।