२३ जेठ २०८३, शनिबार

'जलवायु अनुकुलन हुनेगरी विकास र सामाजिक क्रियाकलाप गरिनुपर्छ'

कात्तिक १८, २०७९
'जलवायु अनुकुलन हुनेगरी विकास र सामाजिक क्रियाकलाप गरिनुपर्छ'

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् ।  

राष्ट्रपति भण्डारीले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरू वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकुलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक्ता रहेको बताइन् । उनले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । उनले जलवायु अनुकुलन र वातावरणमैत्री व्यवहारका लागि अर्थप्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यक्ता औँल्याइन् । 

‘मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकहरूलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकुलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरू सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकुलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदी भावी पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरू, हाम्रो जनजीवनहरू, हाम्रो अर्थप्रणालीलाई त्यतापट्टि हामीले लैजानुपर्ने हुन्छ’, राष्ट्रपति भण्डारीले भनिन् । 

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताइन् । ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधारको विकासमा संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भूमिका आवश्यक रहेको बताइन् । 

मुस्ताङको कोरला नाकाले मित्रराष्ट्र चीनसँगको व्यापार व्यवसाय गर्न सहज हुने भएकाले उत्पादनको सहज बजार र दुई देशबीचमा  स्थलमार्ग हुँदै व्यापार विस्तारको नयाँ सम्भावना खोल्ने उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्