
न्यायका लागि संघर्षरत ‘कुमारी आमा’ निहारिका राजपुतकी छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ । प्रयोगशाला परीक्षणका क्रममा प्रतिवादी श्रेष्ठ र बच्चाको डीएनए मिलेको हो ।
खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाकी छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका सूचना अधिकारी नूतन झाले लोकान्तरलाई जानकारी दिइन् । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न गत भदौ ८ मा आदेश दिएको थियो ।
‘डीएनए मिलेको रिपोर्ट आजमात्र हामीलाई पनि जानकारी भयो’, सूचना अधिकारी झाले भनिन्, ‘अब कानूनअनुसार न्याय सम्पादनको प्रक्रियामा अघि बढ्छौँ ।’ उनले निहारिकाको मुद्दाको तारेख कात्तिक २५ गतेलाई तोकिएको जानकारी दिइन् । अब सोही दिन मुद्दाको सुनुवाइका लागि अर्को पेशी तोकिने उनले जानकारी दिइन् ।
निहारिकाले श्रेष्ठले बलात्कार गरेको दाबी गर्दै आएकी छन् । उनकै बलात्कारका कारण बच्चा जन्मिएको निहारिकाले दाबी गर्दा श्रेष्ठले भने आफूहरू पहिले सम्बन्धमा रहे पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।