११ साउन २०८३, सोमबार

चितवनलाई आर्थिक राजधानी बनाउने रवि लामिछानेको वाचापत्र

कात्तिक २२, २०७९
चितवनलाई आर्थिक राजधानी बनाउने रवि लामिछानेको वाचापत्र

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । कालिका नगरपालिकाको जुटपानीमा सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रुपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ ।

वाचापत्रमा भनिएको छ, ‘आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विद्येयक पेस गर्नेछु । भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत् चितवनमा सहरी योजनाको सुरुवात गरिने, चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वाटर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने लगायतका व्यवस्था गरिने छ ।’

लामिछानेको वाचापत्रमा चितवन–२ मा हेलो रवि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । वाचापत्रमा भनिएको छ, ‘तपाइँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ । तपाइँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाइँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस्, तपाइँका कुनै पनि समस्याका लागि तपाइँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्नेछु ।’

वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ । 

वाचापत्रमा उल्लेख भए अनुसार यस बोर्डले वागेश्वरी क्षेत्रमा योगी नरहरि नाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, वृहत् जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियती वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रुपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्ड फिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिनेछ । 

रवि लामिछानेले आज सार्वजनिक गरेको वाचापत्रमा संसदीय अभ्यासलाई सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्