
प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ ।
५८ वर्षीय थापाको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेजका डाइरेक्टर डाक्टर राजेश नेपालले उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन् ।
असोज २४ गते उपचारकालागि नोबेल अस्पताल भर्ना भएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो ।
उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो ।
उनलाई ह्याम्स अस्पतालबाट सोमवार नोबेल अस्पताल ल्याइएको हो ।
थापालाई फोक्सोमा निमोनिया भएको थियो ।
असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट चुनाव लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए ।
२०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका प्रदेससभामा थिए ।