![काठमाडौं– ७ : चुनावी घरदैलोमा मानुषीलाई डेढ घण्टा पछ्याउँदा... [फोटो/भिडियो]](https://lktcdn2.prixacdn.net/media/Manusi_Yami_Bhattrai1_fkb3HGNrC1.png)
मंगलवार बिहान १०ः३० बजे काठमाडौं महानगरपालिका वडा नं. १८ मा पुग्दा मानुषी यमी भट्टराई घरदैलो कार्यक्रममा व्यस्त थिइन् ।
यो वडा काठमाडौं क्षेत्र नंं. ७ मा पर्छ । मानुषी यही क्षेत्रबाट सत्ता गठबन्धनको साझा उम्मेदवार छिन् । निधारमा रातो टीका । गलामा खादा । सामान्य पहिरन । डल्लु पुलनजिकै उनी मतदातासँग मत मागिरहेको भेटिइन् ।
उनीसँगै मत माग्दै थिए, वसन्त मानन्धर, सविन तामाङ र प्रभादेवी बज्राचार्य । उनीहरूको टोली २०/२५ जनाको थियो ।

वसन्त काठमाडौं क्षेत्र नं. ७ (१)बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् भने सविन काठमाडौं ७ (२)बाट उम्मेदवार बनेका छन् । प्रभादेवी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् ।
मानुषी माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर चुनावी मैदानमा उत्रिएकी हुन् ।
वसन्त र सविन क्रमशः कलम र रुख चुनाव चिन्हबाट चुनावी मैदानमा छन् । प्रभादेवी एकीकृत समाजवादीका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी हुन् ।
‘नमस्कार म मानुषी यमी भट्टराई,’ पर्चा दिँदै उनी मतदातासँग भन्थिन्, ‘चुनाव चिह्न याद राख्नू ल । अरूलाई पनि सिकाइदिनू है !’
त्यसैगरी अन्य उम्मेदवारहरू क्रमशः मतदातासँग मत माग्थे । टोलीका सदस्यले मतदाताहरूको हातमा पर्चा थमाउँथे ।
नाम र मोबाइल नम्बर टिपोट गर्थे ।
यत्तिकैमा टोली साँघुरो गल्लीभित्र छिर्यो । मानुषी एक–एक घरमा नमस्कार गर्दै, त्यसैगरी भोट माग्दै अगाडि बढिन् ।

मतदाताहरू पनि टाउको हल्लाउँदै मत दिने सांकेतिक विश्वास दिलाउँथे । घरदैलौ गरिरहँदा मानुषी छतमा रहेका मतदातालाई पनि तल बोलाउँथिन् । मानुषीको चुनावी प्रचारमा मुख्य तीनवटा विशेषता पाइयो ः
पहिलो – प्रत्येक घरघरमा पुगेर मत माग्ने ।
दोस्रो – नाम र मोबाइल नम्बर टिपोट गर्ने
तेस्रो – मतदातासँग भेट हुन नसके प्रचार सामाग्री गेट वा ढोकाबाहिर छाडिदिने ।
घरघरमा पुगेर मत माग्दै गर्दा बुढाबुढी मात्र भेटिए मानुषी प्रचार सामाग्री छाड्दै भन्थिन्, ‘युवाहरू भोट माग्न आएका थिए भनिदिनू है !’

घरदैलोमा उनले एजेन्डाहरू भने सुनाइनन् । मतदाताहरूले पनि आफ्ना समस्याहरू एवं गुनासोहरू सुनाएको पाइएन् ।
भुरुङखेल चौरनिर राजेश थपलिया भेटिए । उनले भने आफ्नो ठाउँमा रहेको पानीको समस्याबारे गुनासो पोखे । उनले भने, ‘पानी खान पाइएन । हुम्ला, जुम्लामा भन्दा पनि चर्को भयो ।’
त्यत्तिकैमा प्रदेशसभा सदस्यका उम्मेदवार वसन्त मानन्धर नजिक आए । उनले आफूहरूले पानीको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । त्यसपछि ती मतदाताले लोकान्तरसँग भने, ‘यस क्षेत्रमा पानी आउँदै आउँदैन भन्दा पनि हुन्छ । १५ दिनमा एकपटक आउँछ । सबैले किनेर खानुपर्ने अवस्था छ ।’

पानीको समस्या वडाभर रहे पनि बढी समस्या भुरुङखेल चौर आसपासमा रहेको राजेशले सुनाए । मानुषीको घरदैलो अगाडि बढिरहँदा उनले मत मागिसकेका केही मतदाताहरूसँग हामीले कुरा गर्र्यौं । त्यसक्रममा उनीहरूले पनि वडामा पानीको समस्या विकराल रहेको सुनाए ।
अघि उम्मेदवारहरू आउँदा किन नसुनाउनुभएको त ? भन्ने लोकान्तरको प्रश्नमा लक्ष्मी महर्जनले जवाफ फर्काइन्, ‘उहाँहरूसँग सुनाएर के गर्नु ? काम गर्ने होइन । अहिले आश्वासन मात्रै दिनुहुन्छ । भोट पाएपछि उहाँहरू कोट लगाएर जानुहुन्छ ।’

१२ बज्दै गर्दा मानुषीको बिहानको घरदैलो कार्यक्रम सकियो । चुनावी प्रचार कार्यालयलाई दाहिने पार्दै टोली खाना खान होटलभित्र छिर्यो ।
त्यही क्रममा लोकान्तरसँग मानुषीले छोटो कुराकानी गरिन् । शिक्षित र युवा आएको भन्दै मतदाताहरू एकदमै उत्साहित रहेको उनले बताइन् । जनताको समस्या र मागलाई सम्बोधन गर्नेगरी एजेन्डाहरू तयार पारेको बताउँदै उनले मत पाउने विश्वास व्यक्त गरिन् ।
मानुषी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीकी छोरी हुन् । यस क्षेत्रमा २०६४ सालमा हिसिला यमीले जितेकी थिइन् भने त्यसयता दुईपटक एमालेले जितेको छ ।
यसपटक एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् । यस क्षेत्रका निवर्तमान सांसद रामवीर मानन्धरले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
हेर्नुहोस्, भिडियो :








