मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपीएफ काठमाडौंले चुमेको छ ।
राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपीएफले उपाधि चुमेको हो ।
एपीएफका लागि खेलको ४८औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।
खेलको ‘म्यान अफ द म्याच’ गोलकर्ता कार्की घोषित भए भने बेस्ट गोलकिपर एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको बेस्ट डिफेन्स पिटर सैगुन, बेस्ट मिडफिल्डर मनि लामा (एपीएफ), बेस्ट स्ट्राइकर बुद्घ चेम्जोङ (राजारानी), बेस्ट कोच सुदीप श्रेष्ठ (एपीएफ), राइजिङ प्लेयर कासिम राई (आयोजक डाँगीहाट), हाइस्कोर फोडे फोफोना (सहलेस सिरहा) र सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट (एपीएफ) घोषित भए ।
प्रतियोगिताको विजेता एपीएफले नगद ८ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता राजारानी क्लब धनकुटाले नगद ४ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५–१५ हजार रुपैयाँ र उत्कृष्ट प्रशिक्षकलाई १० हजार पुरस्कार प्रदान गरिएको छ । म्यान अफ द म्याचले ५ हजार प्राप्त गरे ।
प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टीम सहभागी थिए ।