
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(१) का लागि निर्वाचन आयोगले नयाँ चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार असोज २४ गते मनोनयनको समय तोकिएको छ ।
थापाको निधनमा प्रदेश १ सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।डेंगीबाट संक्रमित भएका मन्त्री थापालाई निमोनिया समेत भएको थियो । थापाको विराटनगरस्थित नोबेल अस्पतालमा बुधबार निधन भएको हो ।
००००
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका संघसंस्था र युवा प्रतिनिधिसँग बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरूपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लंघन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महंगो पर्नसक्ने चेतावनी दिए ।
००००
निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न कुनै पनि निर्देशन नदिइएको जनाएको छ । बुधवार आयोगले कार्कीलाई घन्टी बोकेर चुनाव प्रचार नगर्न भनेको समाचार सञ्चारमाध्यममा आएपछि आयोगले यसबारे प्रष्ट पारेको हो ।
आयोगको आधिकारिक फेसबूकपेजमा भनिएको छ,‘ प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’
कार्कीले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी छन् ।
००००
कर्णाली र सुदूरपश्चिम प्रदेशवासीहरूमा भूकम्पको सन्त्रास बढेको छ । बुधबार राति २ः१२ बजे पूर्वीचौकी गाउँपालिका–३ डोटी गैरागाउँका छ व्यक्तिको ज्यानै लिने गरी गएको ६.६ रेक्टर स्केलको भूकम्पले दुवै प्रदेशका नागरिक त्रसित भएका हुन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बेलुका डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्जमा ९ः०७ बजे गएको ५.७ र राति २ः१२ बजे ६.६ रेक्टर स्केलको भूकम्पले डरलाग्दो झट्का दिएपछि दुवै प्रदेशका नागरिकमा सन्त्रास फैलिएको छ । भूकम्पले सुदूरपश्चिमका नौ र कर्णालीका दशै जिल्लालाई प्रभावित बनाएको छ ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन्।
बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए ।
००००
पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
००००
नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन् ।
गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल फोरममा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाजको निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाएकी हुन् ।
००००
निर्वाचन आचारसंहिता लागू भइसकेपछि बागमती प्रदेश सरकारले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई आयोगले स्पष्टीकरण सोधेको हो । नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं २ का उम्मेदवार शिवशंकर यादवलाई पनि निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
००००
आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पसमा निर्वाचन आचारसंहिता लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया गरिएको पाइएको भन्दै त्यसलाई तत्काल बदर गर्न पनि निर्देशन दिएको छ ।
००००
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताएका छन् । बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, नेकपा बहुमत र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् ।
००००
नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित ५ जनालाई कारबाही गरेको छ ।
उदयपुर निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ । यसअघि मंगलबार कांग्रेसले ७६ जनालाई पनि यसैगरी निष्काशन गरेको थियो ।