
नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पाल्पाका जनताले अहिलेको निर्वाचनबाट विभाजनकारी र अवसरवादी प्रवृत्तिलाई अस्वीकार बताएका छन् ।
आफ्ना प्रतिस्पर्धी सोमप्रसाद पाण्डेयप्रति लक्षित गर्दै पाल्पा–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका गैरेले राजनीतिमा अपराधिकरण र दक्षिणपन्थी विभाजनकारी शक्तिलाई पाल्पालीले यो पटक रोकेर आपूmलाई जिताउने दावी गरे ।
बिहीबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उम्मेदवार गैरेले भने, ‘पाल्पाली जनता पार्टी एकता पक्षधर हुन् । पाँच पटक पाल्पाबाट विजयी भए पनि फेरि उम्मेदवार बन्न पार्टी विभाजनको पक्षमा उभिनेलाई जनताले ‘साइड’ लगाउँदैछन् । त्यो दिन अब धेरै टाढा छैन ।’
सत्तारूढ गठबन्धनबाट उम्मेदवार रहेका पाण्डेयले एमालेले गरेका कामहरू अहिले आफुले गरेको भन्दै जनतामा भ्रम छरिरहेको आरोप लगाए । ‘जनताले नयाँ उम्मेदवार खोजेका छन’ गैरेले भने, ‘अरूले गरेका काम मैले गरेको हुँ भनेर ‘सोसल’ मिडियामा दिउँसै रात पार्ने काम भएका छन् । त्यो कुरा जनतालाई राम्रोसँग हेक्का छ ।’
पाल्पाका जनताले सिद्धबाबा–तानसेन सडक सुरक्षित बनाउन माग गरेको र आफू निर्वाचित भएमा पहिलो प्राथमिकता दिएर उक्त समस्या साधानमा लाग्ने गैरेले बताए ।
त्यसबाहेक, ग्रामीण सडकको स्तरोन्नती, उद्यमशिलताको विकास, कृषिको व्यवसायीकरण, खानेपानीको पहुँच वृद्धि आफ्ना प्रमुख चुनावी एजेण्डा रहेको गैरेले बताए ।