०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका सागर ढकाल : जिते सांसद, हारे इन्जिनीयर !

‘जनताको घरमा बसेको छु, मतदाताको आशिर्वाद पाएको छु’
कात्तिक २५, २०७९
देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका सागर ढकाल : जिते सांसद, हारे इन्जिनीयर !

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा बुधवार सुदूरपश्चिमकै सबैभन्दा ठूलो मानिने उग्रताराको मेला चलिरहेको थियो ।​

डडेल्धुरा, डोटी, बैतडी, कैलालीलगायत जिल्लाका हजारौं दर्शनार्थी मेला भर्न उग्रतारा मन्दिरमा आएका थिए । 

मन्दिरको गेटमा काँधमा राष्ट्रिय झण्डा बोकेका युवासँग सेल्फी लिनेको भीड थियो । युवाहरूको सेल्फी आकर्षण बनेका थिए– इन्जिनीयर सागर ढकाल । जो अहिले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवासँग डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा छन् । 

नयाँ मतदातादेखि मतदाता नामावलीमा नामै नरहेका युवायुवती पनि सागरसँग सेल्फी खिच्न व्यस्त थिए । उग्रतारा मेलापछि दोस्रो आकर्षण सागर थिए । 

गुल्मीको सत्यवती गाउँपालिकामा जन्मेका ढकालले पुल्चोक इन्जिनीयरिङ क्याम्पसबाट इन्जिनीयरिङमा स्नातक गरेका छन् । उनी बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा समेत अध्ययन गरेर नेपाल फर्केका हुन् ।

२०७४ सालतिर बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई प्रश्न सोधेर चर्चामा आएका ढकाल उनै देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा आएका छन् ।

चुनाव चिह्न सुई लिएर डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका ढकाल सामाजिक सञ्जालहरूमा चर्चाको केन्द्रमा छन् ।

काठमाडौंबाट रात्रि बस चढेर डडेल्धुरामा उम्मेदवारी दिन हिँडेको दिनदेखि नै सामाजिक सञ्जालहरूमा ढकालको चर्चा छ । 

डडेल्धुराका स्थानीय मतदाता लोकबहादुर देउवाले स्थानीयले परिवर्तन चाहेकाले ढकाललाई मत हाल्ने बताए । मत हाल्ने बताएका देउवालाई ढकालले हातमा ढोग गरे ।

लोकबहादुर देउवासँग सागर ढकाल

‘हजुरहरूको आशीर्वाद मिल्यो भने यहाँको मुहार फेर्नेछु । यसपटक मलाई भोट दिनुहोला,’ ढकालले भने ।​

यत्तिकैमा एकजना युवा ‘तपाईंलाई भोट हाल्न काठमाडौंबाट आएको’ भन्दै फोटो खिच्न आइपुगे । उनी डडेल्धुराको अमरगढी नगरपालिकाकै मतदाता हुन् ।

‘जनताको घरमा बसिरहेको छु, डडेल्धुराको माया पाएको छु’

पहेंलो कुर्ता, सेतो सुरुवाल र ढाका टोपीमा देखिएका ढकालले सामान्य चप्पल लगाएका थिए । मेला भर्न आएका कतिपय मतदातालाई उनले हातमा ढोग्दिएका थिए, जसलाई यसअघि उनले गाउँमा भेटेका थिए । 

२०४८ सालदेखि लगातार चुनाव जित्दै आएका देउवाले यसपटक सत्ता गठबन्धनका कारण विगतभन्दा सहज महसूस गरिरहेका छन् । डडेल्धुरामा एमालेको उम्मेदवार छैन । एमालेले कांग्रेससँग विद्रोह गरी नेपाली कांग्रेस (बीपी)बाट उम्मेदवारी दिएका कर्ण मल्ललाई समर्थन गरेको छ, जसका कारण पनि देउवाले चुनाव जित्न सहज महसूस गरिरहेका हुन् । 

यस्तो अवस्थामा पनि सागर देउवासँगको चुनावी प्रतिस्पर्धा आफूलाई सहज नै लागिरहेको दाबी गर्छन् ।

‘क्याम्पस पढ्दादेखि नै म चुनौती स्वीकार्ने मान्छे हो । सजिलो काम भयो भने त निद्रा लाग्छ । चुनौती स्वीकरेरै म यहाँ आएको हो,’ ढकालले भने ।

सागर चुनाव लड्न डडेल्धुरा गएकोमा परिवारका सदस्यहरू सन्तुष्ट छैनन् । तर पनि राजनीतिमा होमिने आकांक्षाले उनलाई डडेल्धुरासम्म ल्याइपुर्‍यायो ।

‘यहाँ कसको क्रेज छ देख्नु भएन ? जनताले परिवर्तन चाहिरहेको बुझ्नुभएको छैन ?’ युवाहरूलाई देखाउँदै सागरले भने । 

इन्जिनीयरको रूपमा विदेशमा कामको अवसर भए पनि देशको बेहाल देखेर आफू राजनीतिमा जोडिन आएको ढकालले बताए । ‘बेलायतमा पढेपछि मलाई अन्तर्राष्ट्रिय जागिरको अफर थियो । तर ठूला महलमा बसे पनि नेपालको विमानस्थलमा युवाका लाश आएको दृश्यले मलाई रुवाइरहन्छ । त्यो अवस्था बदल्न यहाँ आएको हुँ,’ ढकालले भने, ‘चुनाव जितेपनि हारेपनि राजनीति छाड्दिनँ, म थाकेको छैन ।’

‘देउवाले तपाईंको कुरा सुन्नु छैन भनेर बाहिर पठाउनुभयो’

डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार ढकालले प्रतिस्पर्धी सबै राजनीतिक दलका उम्मेदवारसँग कुराकानी भइरहेको बताए । ‘शेरबहादुरजीसँग पनि भेट भयो । उहाँले भयो धेरै कुरा नगर्नुस्, तपाईंको कुरा सुन्नु छैन भनेर बाहिर पठाउनुभयो,’ देउवासँगको भेटबारे ढकालले भने । 

गत साता देउवा डडेल्धुरा आउँदा सागर फूलमाला लिएर स्वागत गर्न गएका थिए । कांग्रेस कार्यकर्ताले आफूलाई प्रचारप्रसारमा अवरोध गरेको भनेर सागरले दाबी गरे पनि देउवाले सागरको गतिविधिमा हस्तक्षेप नगर्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन् । 

‘त्यो सागरसँग मेरो प्रतिस्पर्धा पनि होइन, प्रजातन्त्रमा चुनाव लड्न सबैलाई स्वतन्त्रता छ । रहर गर्नेलाई प्रचार गर्न दिनुस् । अवरोध नहोस्,’ देउवाले कांग्रेस कार्यकर्तालाई निर्देशन दिँदै भनेका थिए । 

देउवाले आफ्नो कुरा नसुनेकोमा उनलाई गुनासो छैन । ‘जनताले मेरो कुरा सुनेका छन्, मलाई आशीर्वाद दिएका छन् । चुनाव जित्नेमा म ढुक्क छु । कथंकदाचित चुनाव जितिनँ भने पनि म इञ्जिनीयर हो, मैले केही गुमाउनुपर्दैन,’ ढकालले भने । 

ढकालको उम्मेदवारीलाई लिएर डडेल्धुरामा मिश्रित प्रतिक्रिया छ । देउवाविरुद्ध उम्मेदवारी दिन हिम्मत गरेको भन्दै कतिपयले प्रशंसा गरिरहेका छन् भने दुस्साहस गरेको भनेर कतिपयले ठट्टा गरेका छन् ।

अमरगढी– ८ का स्थानीय जेठबहादुर सखीले युवा उम्मेदवारले पनि यसपटक चुनावी माहोल सिर्जना गरेको बताउँछन् । ‘डडेल्धुरामा नयाँ उम्मेदवारको पनि चर्चा छ,’ उग्रतारा मन्दिरका पुजारी समेत रहेका सखीले भने ।

सभापति शेरबहादुर देउवाको चुनावी प्रचार अभियानमा हिँडेका एक जिल्लास्तरीय नेताले डडेल्धुराका मतदाताले ‘टुरिस्ट’ उम्मेदवार नचिन्ने टिप्पणी गरे ।

‘सागर नितान्त प्रचारका लागि यहाँ आएका हुन् । उनले अहिलेसम्म जति पढेका छन्, त्यो भन्दा ठूलो पाठ डडेल्धुराबाट सिकेर जानेछन्,’ अमरगढीमा भेटिएका नेपाली कांग्रेसका ती नेताले भने । 

फोटोमा निकोलस भुसाल

उम्मेदवारी खारेज भएका निकोलस पनि डडेल्धुरामा

राज्यकोषबाट छात्रवृत्ति लिएर अध्ययन गरिरहेको भन्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गरिदिएका डा. निकोलश भुसाल पनि सागरलाई चुनाव जिताउन भन्दै डडेल्धुरामा आइपुगेका छन् । 

रूपन्देही– २ बाट उम्मेदवारी दर्ता गराएका भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो । 

सागरलाई चुनाव जिताउनका लागि काठमाडौंबाट केही स्वतन्त्र युवाहरू डडेल्धुरा आएका छन् । 

चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा काँधमा राखेर भुसाल लगायतको टोली बुधवार सागरलाई भोट माग्दै हिँडिरहेको भेटियो । ‘सागरलाई जिताउन आएको हुँ, माहौल राम्रो पाएँ,’ भुसालले भने । 

उम्मेदवार ढकालले बाहिरबाट आएका सबै साथीहरू आफ्नै खर्चमा बसिरहेको बताए । 

‘मैले कुनै दिन मासु भात खाएको छैन, प्रोटिन पुग्दैन भनेर अभियानमा हिँडेका साथीहरूले कहिलेकाहीँ अण्डा खाएका छन्,’ चुनावी खर्च कसरी जुटाएको छ भनेर सोधिएको प्रश्नमा ढकालले भने, ‘म प्रायः गाउँमा हुन्छु । गाउँमा खाएको पैसा लिनहुन्छ, बसेको लिनुहन्न ।’  


salt training

कमेन्ट गर्नुहोस्