०५ साउन २०८३, मंगलबार
'एकल प्रतिस्पर्धा'मा देउवाको चुनाव

डडेल्धुरामा देउवाको साम्राज्य: मतदातामा अचम्मको मोह, ३१ वर्षसम्म कसैले दिन सकेन चुनौती

‘बोरामी पैसा ल्याइबर दिन्या कोई हैनन्, देउवाले हम्रा लागि निकोई अर्‍या छन्’
कात्तिक २५, २०७९
काठमाडौं
डडेल्धुरामा देउवाको साम्राज्य: मतदातामा अचम्मको मोह, ३१ वर्षसम्म कसैले दिन सकेन चुनौती

ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने भनेर भविष्यवाणी गरेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गते हुने प्रतिनिधिसभा  चुनावमा सातौंपटक सहभागी हुँदैछन् । २०४८ सालपछि भएका ६ वटै आम चुनाव जित्ने दुर्लभ कीर्तिमानी देउवाको नाममा लेखिएको छ । 

पाचौं प्रधानमन्त्रीत्वकालको अन्तिम चरणमा रहेका देउवाले सातौं तथा सम्भवतः अन्तिम चुनावलाई विगतको भन्दा सहज मानेका छन् । आममतदाताको बुझाइमा डडेल्धुरा, जहाँ देउवाको प्रतिस्पर्धा एकल जस्तै छ ।

सामाजिक सञ्जालमा चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल र एमालेको समर्थन रहेका कांग्रेस बीपीका कर्ण मल्ललाई उनले चुनौतीको रूपमा लिएका छैनन् । मल्लको तुलनामा ढकालले प्रचार तीब्र बनाएका छन् । ढकाललाई जिताउन भन्दै काठमाडौंबाट समेत युवाहरू डडेल्धुरा आइपुगेका छन् ।

तर, देउवा चुनाव जित्नेमा ढुक्क छन् । उनले घरदैलोको कुनै कार्यक्रम गरेका छैनन् । ‘देउवा दाइ चुनाव जितिनेमा ढुक्क छन्, अन्य दलका नेता भोट माग्न जनताको घर-घरमा गए पनि देउवाले सभा समेत गरेका छैनन् । उनले गरेको कामबाट मतदाता खुशी छन्,’ नेपाली कांग्रेसका एक जिल्ला नेताले लोकान्तरसँग भने । 

आफ्नो जिल्लामा चुनावी सभा समेत नगर्ने देउवा यसपटक केही चुनावी सभामा सहभागी भएका छन्, गठबन्धनका उम्मेदवार जिताउन ।

‘गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित गर्नका लागि उहाँ सभामा हिँड्नुपरेको हो, आफैँ जित्नका लागि यति पनि गरिराख्नुपर्दैन,’ ती नेताले भने ।

देउवाको चुनावी अभियानको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउदले गरेका छन् । 

उमेरले ७६ औं वसन्त पूरा गरेका देउवाले कार्यकर्तासँग अन्तिमपटक चुनाव लड्न लागेको बताएका छन् ।

‘उमेरका कारण म फेरि चुनाव लड्दिनँ होला, विकास गर्न बाँकी रहेका सबै काम पूरा गर्ने गरी चुनाव लड्न लागेको हुँ,’ उम्मेदवारी दिइसकेपछि डडेल्धुरा सदरमुकाममा कार्यकर्ता भेटघाटका क्रममा देउवाले भनेका थिए । 

गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा जन्मिएका देउवा जिल्लामा जाँदा सदरमुकामस्थित एक होटलमा बस्ने गरेका छन् ।​ अमरगढीस्थित रातो गुराँस रिसोर्टको भुइँतल्लामा रहेको ३०२ नम्बर कोठामा बसेर उनले चुनावी गतिविधि सञ्चालन गरेका थिए । 

कार्तिक २८ गतेपनि सामान्य सुविधा रहेको त्यही होटलमा आएर बस्नेगरी देउवाले बूकिङ गराएका छन् । त्यसपछि मतदान गरेर मात्र फर्किने तयारीमा उनी छन् ।

 के भन्छन् देउवालाई सधैँ चुनाव जिताउने मतदाता ?

२०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा गरी ६ पटक देउवालाई चुनाव जिताएर पठाएका डडेल्धुराका मतदाताको मनोविज्ञान फेरिएको छैन । डडेल्धुराका गाउँबस्तीमा भेटिएका बहुसंख्यक मतदाताले देउवाको विकल्पमा मत दिनका लागि उपयुक्त पात्र फेला नपरेको दाबी गरे ।

अमरगढी नगरपालिका– ५ का महावीर टमाटा डडेल्धुराका जनताका लागि राम्रो काम गरेकाले देउवाले चुनाव जितिरहेको बताउँछन् ।

‘काम नगरेको भए पो अरू खोज्ने । हाम्रो नेता शेरबहादुर हुन्, उनीबाहेक अरूलाई भोट दिने सोचेको छैन,’ टमाटाले भने, ‘जिल्लामा जे जति विकास भएको छ, देउवाकै कारण हो, हामी उनीसँग खुशी छौं ।’

टमाटाको भनाइमा थप्दै अर्का मतदाता हरि पार्कीले भने, ‘हारुन् कि जितुन्, तर हामीले भोट दिने देउवालाई हो ।’ पार्कीले अहिलेसम्म कोही पनि भोट माग्न नआएको बताए ।

भागेश्वर गाउँपालिका ४ का धर्मसिंह बुढाऐर ३० वर्षमा देउवाले धेरै विकास गरेको दाबी गर्छन् ।

‘देउवाले घर-घरमा बाटो र पानीको धारा पुर्‍याएका छन् । यहाँका कुन ठाउँ छ, जहाँ मोटरबाटो नहोस् ?’ बुढाएरले भने, ‘अरू नेताले जिते माननीय मात्र बन्ने हो, देउवाले जिते प्रधानमन्त्री बन्छन् । अहिले पनि छन्, फेरि पनि बन्छन् । उनी जिल्ला मात्र होइन सुदूरपश्चिमकै नेता हुन् ।’ 

गाउँगाउँ पुग्दा देउवाको विरोध गर्ने र वैकल्पिक उम्मेदवारलाई समर्थन गर्ने मतदाता भेट्टाउनै मुस्किल पर्छ । 

अमरगढी– ३ का नन्दराज बोहोरा राम्रो काम गरेकै कारण देउवा डडेल्धुराबाट दोहोरिइरहेको बताउँछन् । 

‘देउवाले राम्रो काम गरेका छन् । केन्द्रबाट योजना पारेर बजेट पठाइदिएका छन् । तर जिल्लाका नेताले काम गरेका छैनन्,’ बोहोराले भने ।

गाउँ–गाउँमा बाटो पुगे पनि डडेल्धुरामा गरिबी उस्तै छ । झण्डै डेढ लाख जनसंख्या रहेको डडेल्धुराबाट १५ हजार जति युवा वैदेशिक रोजगारीमा गएका छन् । धेरै त, सस्तो श्रम बेच्न भारतका शहरमा गएका छन् । 

प्रधानमन्त्री पत्नी डा. आरजु देउवाले ‘फ्री टिकट, फ्री भिसा’मा वैदेशिक रोजगारीमा पठाउने भनेर दिएको भाषण काठमाडौंमा फरक सुनिए पनि यहाँका मतदाताका लागि भने नौलो कुरा भएको छ । उनीहरू खुशी नै पाइए । 

अजयमेरु गाउँपालिकाका मतदाता रामदत्त भट्टराई देउवाको कामले जनताको मन जितिरहेको दाबी गर्छन् । ‘उनले काम नगरेको भए हामीले बारम्बार किन जिताएर पठाउँदा हौं ? गर्न बाँकी काम अब पूरा गर्लान्,’ भट्टराईले भने । 

अमरगढी– २ का शिवराज पन्त देउवासँग प्रतिस्पर्धा गर्न सक्ने हाइटको नेता डडेल्धुरामा कोही नहुँदा सधैँ उनले जितिरहेको बताउँछन् ।

‘द्वन्द्वकालको केही समय विकास हुन नसके पनि देउवाले डडेल्धुरालाई अन्य जिल्लाको तुलनामा विकास गरिरहेका छन् । प्रतिस्पर्धामा रहेका नेताको देउवासँग तुलना नै हुँदैन,’ पन्तले भने । 

देउवासँग चुनाव लड्ने नेता पटक–पटक फेरिएका कारण उनीसँग असन्तुष्ट रहने मतदाता अलमलमा पर्छन् । 

२०४८ सालदेखि एमालेले कुनै उम्मेदवारलाई दोहोर्‍याएको छैन भने पछिल्ला तीन चुनावमा निकटतम प्रतिद्वन्दी रहेका माओवादी उम्मेदवार अहिले देउवासँगै सत्ता गठबन्धनमा छन् । 

अमरगढी– २ की मन्दोदरी बोहोरा डडेल्धुराका जनताका लागि देउवाले गर्न सक्ने जति काम गरिरहेको दाबी गर्छिन् ।

‘हम्रा लागि निकोई अर्‍या छन्, उन् सुदूरपश्चिमा सब है ठूला नेता हुन् । बोरामी पैसा ल्याइबर दिन्या कोई हैनन्, उनैले जिल्ला लागि भौतुई काम अर्‍या छन् ।’

(अर्थात्, हाम्रा लागि राम्रै गरेका छन् । उनी सुदूरपश्चिमका सबैभन्दा ठूला नेता हुन् । बोरामा पैसा ल्याएर कसैले दिने हैन, जिल्लाका लागि धेरै काम गरेका छन् ।)

स्थानीय पार्वती बोहोराका एक मात्र छोरा स्वदेशमा काम नपाएर रोजगारीको शिलशिलामा मलेसियामा छन् । तर पनि उनलाई केही फिक्री छैन । देउवाप्रति उनको आश्चर्यलाग्दो लगाव छ । ‘भोट कसलाई दिने भन्ने नसोध्नुस्, हाम्रो नेता उनै (देउवा) हुन् । उनी चुनाव लड्दासम्म हामीले उनैलाई दिने हो,’ बोहोराले भनिन् । 

डडेल्धुराका महिला अझै पनि आफैँ निर्णय गर्ने अवस्थामा नरहेको र श्रीमानको आदेश पालना गर्ने उनी बताउँछिन् । ‘घरका मान्छे (श्रीमान)ले जे भन्छन् हामीले त्यही गर्न्या हो,’ उनले भनिन् । 

अमरगढीका ७९ वर्षीय भीमबहादुर ऐर बहुदल आएदेखि नै देउवालाई भोट दिएको र अहिले मन फेर्नुपर्ने कारण नभएको बताउँछन् ।  

डिकरीदेवी सार्की

भागेश्वरको नौगाढकी डिकरीदेवी सार्की देउवाबाहेक अरूको नामै नसुनेको बताउँछिन् ।

‘हामीले जानेको नेता उनै हुन्, भोट कसलाई दिने भन्ने त नभनौं,’ डिकरीले भनिन् ।

बजारमा किनमेल गरेर खाली खुट्टा घर फर्किँदै गरेकी डिकरीको भनाइमा गोमला र पार्वतीदेवी सार्कीले पनि सहमति जनाए ।

भागेश्वर- ४ कुर्माएलका बलराज चटौत देउवाले दुईदशकको समयमा डडेल्धुराको मुहार फेरेको दाबी गर्छन् । 

‘हामीले ३ घण्टा हिँडेर स्कूल पढेका थियौं, अहिले गाउँगाउँमा स्कूल बनेका छन् । हामीले सल्लोको दियालो खोजेर बत्ती बालेका थियौं । यहाँ १५ वर्षदेखि लोडसेडिङ छैन । विकास भनेको के हो र ?’ चटौत भन्छन्, ‘शेरबहादुर देउवाको विकल्प शेरबहादुर नै हो । सागर ढकाल या कर्ण मल्ल देउवाको विकल्प बन्न सक्दैनन् ।’

बगरकोटका ६७ वर्षीय नबली दमाई जिल्लामा गरिबी रहे पनि देउवाले विकास गरेको दाबी गर्छन् । 

‘जनताका दुःख त आफ्नो ठाउँमा छन्, अरू नेताको जिल्लामा पनि होलान् । तर डडेल्धुरामा जे जति विकास भएको छ, त्यो राम्रै छ,’ नबलीले भने ।

भागेश्वर– ४ कै अर्का मतदाता चक्रबहादुर दमाई देउवासँग प्रतिस्पर्धा गर्न आएका सागर ढकालले पहिला आफूले केही काम गरेर देखाएमा बल्ल मतदाताले पत्याउने बताउँछन् ।

‘सागर ढकालले १० वर्ष यहीँ बसेर काम गरेमा बल्ल मतदाताले चिन्लान् र पत्याउलान् । मीठा गफ दिएर  भुल्नेवाला छैनन् यहाँका जनता,’ चक्रबहादुरले भने । 

स्थानीय मौरी विष्ट असन्तुष्ट व्यक्तिले सागरलाई समर्थन गरेजस्तो देखिए पनि उनले भोट पाउनेमा सन्देह व्यक्त गर्छन् । ‘घरमा आएका पाहुनालाई सत्कार गर्ने यहाँको चलन हो, घरमा आएकालाई भोट दिन्नँ भनेर कसैले भन्दैनन्, तर मनस्थिति बदल्न गाह्रो छ,’ विष्टले भने । 

विगत : खगराजले तीन हार खाए, अरू उम्मेदवार दोहोरिएनन् 

२०४८ सालको पहिलो संसदीय निर्वाचनमा देउवासँग एमालेका गोविन्दप्रसाद कलौनीले प्रतिस्पर्धा गरेका थिए । 

देउवाले २४ हजार ५ सय ७० मत पाउँदा कलौनीले ६ हजार ६ सय २८ मत मात्र पाएका थिए । 

२०५१ सालमा एमालेले देउवाविरुद्ध खेमराज भट्ट मायालुलाई उम्मेदवार बनायो । 

देउवाले २० हजार ७ सय १ मत पाउँदा भट्ट ९ हजार ९ सय ६६ मतमा सीमित रहे ।

२०५६ सालको निर्वाचनमा बागेश्वरी दत्त चटौत एमालेको तर्फबाट उम्मेदवार थिए ।

देउवाले २८ हजार ६ सय ५१ मत पाउँदा चटौतले ७ हजार ८ सय ४० मत पाएका थिए । 

२०६४ सालको संविधानसभा निर्वाचनदेखि २०७४ सालसम्म भने माओवादीका खगराज भट्ट देउवाको मुख्य प्रतिस्पर्धी रहे । पहिलो संविधानसभामा भट्टले देउवालाई कडा टक्कर दिएका थिए ।

भट्टले १९ हजार १ सय ६१ मत पाउँदा देउवा २० हजार ५ सय २९ मत प्राप्त गरेर विजयी भएका थिए । देउवाले खास प्रतिस्पर्धी भेटेको त्यही चुनावमा हो । 

२०७० सालको संविधानसभा चुनावमा पनि माओवादीले भट्टलाई नै देउवाविरुद्ध भिडायो । दोस्रोपटकको प्रतिस्पर्धामा भट्ट १२ हजार ३ सय ३२ मतमा सीमित हुँदा देउवाले मत बढाएर २३ हजार ९ सय २० पुर्‍याए । 

वामपन्थी गठबन्धन बनेपछि एमालेको समेत समर्थनमा खगराज तेस्रोपटक देउवासँग भिड्न तयार भए ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा देउवाले २८ हजार ४४ मत पाउँदा वामपन्थी उम्मेदवार भट्टले २१ हजार ९ सय २९ मत प्राप्त गरेका थिए । 

लगातार तीन पराजय व्यहोरेका भट्ट अहिले देउवा नेतृत्वको सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार छन्, डडेल्धुराको प्रदेश सभा १ मा । 

देउवा ७औं पटक प्रतिस्पर्धामा उत्रिँदा एमालेका कुनै पनि उम्मेदवार दोहोरिएका छैनन् ।

‘देउवालाई जिताउनका लागि एमालेले कमजोर उम्मेदवारलाई अगाडि सार्ने गरेको आरोप पनि लाग्दै आएको छ,’ जिल्लाका एक एमाले नेताले भने ।

पार्टीबीच प्रतिस्पर्धा रहे पनि एमाले अध्यक्ष केपी ओलीसँग देउवाको राम्रो सम्बन्ध छ । विगतमा पनि माधव नेपालसँग राम्रो सम्बन्ध थियो । 

डडेल्धुरामा कांग्रेसपछि माओवादी बलियो छ । प्रमुख दुई दलसहितको गठबन्धन बन्दा तेस्रो स्थानमा रहेको एमालेले भने यसपटक उम्मेदवार नै उठाएको छैन ।

विगतमा देउवानिकट रहेर काम गरेका कर्ण मल्ल कांग्रेस बीपीको तर्फबाट उम्मेदवार बनेका छन् । 

करुवा चिह्न लिएर चुनावी मैदानमा रहेका मल्ललाई एमालेको समर्थन छ । विगतमा कांग्रेसमा रहँदा तिक्ततापूर्ण सम्बन्ध रहेका कर्णलाई एमालेका नेताहरूले भित्रदेखि समर्थन गरिरहेका छैनन् । 

स्थानीय तह निर्वाचनमा गठबन्धनले पाएको मतका आधारमा देउवा शीर्ष नेतामध्ये सबैभन्दा ‘सेफ जोन’मा छन् । 

देउवाको विकल्प देउवा !

देउवाको गाउँ रहेको गन्यापधुरा गाउँपालिकाकी स्थानीय कलावतीदेवी देउवा शेरबहादुरजस्तो नेता सुदूरपश्चिममै नभएको दाबी गर्छिन् ।

भैँसी पालेर ६० रुपैयाँ लिटर दूध बेचेर जीवन गुजारा गरिरहेकी कलावतीलाई डडेल्धुराको विकास देउवाबाहेक अरूले गर्नेमा विश्वास छैन ।

‘हाम्रै गाउँका नेता प्रधानमन्त्री बनेका छन्, हामीलाई निको लागिरहेको छ,’ कलावतीले भनिन्, ‘गाउँ-ठाउँको विकास गरेका छन्, हामीलाई हेरेका छन् ।’

गन्यापधुरा गाउँपालिकामा रहेको देउवाको जन्मथलो र पुर्ख्यौली घरमा जान सदरमुकाम जोड्ने पक्की बाटोबाट एक घण्टा कच्ची हिँड्नु पर्छ ।

जिल्लाका अन्य सडक पनि धुलाम्मे छन् । तर पनि देउवाप्रति स्थानीयको मोह आश्चर्यलाग्दो छ ।

‘आफ्नो क्षेत्र भनेर उनले जथाभावी बजेट ल्याएका छैनन्, यो कार्यकालमा पालिका जोड्ने मोटरबाटो पिच गर्ने प्रतिबद्धता जनाएका छन्, केहीमा ठेक्का लागेका छन्,’ कांग्रेसका एक जिल्ला नेताले भने ।

बजारबाट दूध बेचेर फर्किएकी कुमरीदेवी देउवा पनि देउवाको विकल्प बन्न सक्ने नेता डडेल्धुरामा नरहेको बताउँछिन् ।

‘हामीले अरू चिन्दैनौं । यही गाउँको नेता मन्त्री, प्रधानमन्त्री भएका छन्, हामीलाई धेरै खुशी लागेको छ,’ कुमारीदेवीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्