
वरिष्ठ पत्रकार बालकृष्ण बस्नेतद्धारा निर्देशित वृत्तचित्र जलवायु परिवर्तन सम्बन्धी इजिप्टमा भएको विश्व महासम्मेलन कोप–२७ मा प्रर्दशन भएको छ ।
इजिप्टको शर्म एल शेख शहरमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी महासम्मेलनमा वृत्तचित्र प्रदर्शन गरिएको हो ।
भ्वाइस फर क्याइमेट जस्टिस् शीर्षकको वृत्तचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्याएको मुख्य क्षति समेटिएको छ । महासम्मेलनमा नेपालको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको नेतृत्वमा वन, तथा वातावरणविद् सहितको टोली सहभागी छ । नेपाल प्रतिवेदनसँगै साथसाथै फाउन्डेसनले तयार गरेको वृत्तचित्र देखाइएको हो । वृत्तचित्रको लेखन र निर्देशन बस्नेतले गरेका हुन् ।
वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथा सहितका हिमालहरूमा हिउँ कम भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, बेमौसमी वर्षाले धनजन, अन्नबालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष ८ मार्चमा विभिन्न क्षेत्रका अगुवा ४० जना महिलाले गरेको सगरमाथा आधार शिविर, कालापत्थरसम्मको पैदलयात्रा, सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।
महासम्मेलनमा सहभागी साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले नेपालमा भएको हानी नोक्सानी र क्षति प्रदर्शन गरी विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले वृत्तचित्र निर्माण भएको बताए ।
अत्यन्तै न्यून कार्बन उत्पादन हुने नेपालमा जलवायु परिवर्तनको क्षति भने अतुलनीय छ । सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्दा छ । ‘नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन वृत्तचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु,’ अध्यक्ष कार्कीले भने ।
वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष सहितको समन्वय र सहकार्यमा निर्माण भएको संस्थाले जनाएको छ । वृत्तचित्र प्रदर्शनपछि सहभागीबीच अन्तक्र्रिया समेत राखिएको थियो ।
निर्देशक बस्नेतले प्राकृतिक विपत्तिले नेपाल र नेपालीले व्यहोर्नुपरेको क्षति मात्र नभई आवाजविहीन पीडितलाई न्यायको वकालत गरिएको बताए ।
‘वृत्तचित्रले हानीनोक्सानी मात्र देखाएको छैन । विपत्ति भोगिरहेको नेपाल र प्रत्यक्ष पीडित जनतालाई क्षतिपूर्ति र पुनर्निर्माणका लागि विश्वले ध्यान दिनुपर्छ भन्ने सन्देश दिएको छ,’ बस्नेतले भने ।