
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या २ वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रबाट लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थापाले शुक्रवार आयोजित घरदैलो कार्यक्रममा २ वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको २ वर्षभित्र काम पूरा हुन्छ,’ उनले भने । आगामी २ वर्षभित्र खहरे खोलाको समस्या समाधान नभए अर्को निर्वाचनमा आफू भोट माग्न नआउने उनको भनाइ छ ।
महामन्त्री थापाले खहरेको छेउमा रहेका घर अगाडिको फोहरसँगै देशको फोहोर पनि फाल्ने जमर्को गरेकाले त्यसका लागि साथ दिन मतदातालाई आग्रह गरे । बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ११ र १२ हुँदै वडा नम्बर १० तिर बग्ने खहरे खोलाको छेउमा रहेको बस्तीमा सामान्य वर्षा भएका बेलामा पनि बाढी पस्ने गर्छ ।
उनले बाढीको समस्या समाधान गर्न पटक–पटक गरी सवा अर्बभन्दा बढी रुपैयाँ बजेट विनियोजन गरिसकेको जानकारी दिए ।
महामन्त्री थापाले खहरेको समस्या समाधानका लागि ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’को प्रस्ताव अघि बढाएको बताए ।