
पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् ।
पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेदवारलाई खसालेको मतको सही सदुपयोग हुनेमा नयाँ मतदाता ढुक्क छन् ।
विराटनगर–४ कञ्चनबारी बस्ने नर्सिङ दोस्रो वर्षकी विद्यार्थी १९ वर्षीया विजेता दाहालले पहिलो पटक मतदान गर्दै छन् । उनी मङ्सिर ४ मा हुने मतदानमा भाग लिन आतुर छिन् । चार मतपत्रमा छाप लगाउनुपर्ने भएकाले कतै अलमलमा परिने हो की भन्ने चिन्ता उनलाई छ । मतपत्रमा छाप कसरी लगाउने र मतपेटिकामा मतपत्र पट्याएर कसरी बक्सामा खसाल्ने भन्ने बारेमा आफ्नी आमासँग सिकेको उनले बताइन् ।
विराटनगर महानगरपालिका–२ बस्ने २० वर्षीया सुशीला विसुङ्ले आफू मतदानलाई लिएर उत्सुक रहेको बताए । उनले नआत्तिई, कुनै गल्ती नगरी मतपत्रमा छाप लगाउने र मत खसाल्नेमा आफू ढुक्क रहेको बताइन् । उनले पहिलो पटक मतदानमा भाग लिए पनि त्रुटीरहित मतदान गर्न आफूमा आत्मविश्वास रहेको बताइन् ।
ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी २० वर्षीया अनिषा बराइलीले पहिलो पटक मतदानको मौका पाउँदा खुसीको कुनै सीमा नरहेको बताए । उनले मत कसरी खसाल्ने भनेर अलि–अलि मनमा डर लागिरहेको सुनाइन् । उनले समाजमा पिछडिएर रहेका समुदाय, वर्गको विकासमा लागिपर्ने उम्मेदवारलाई आफ्नो पहिलो मत खसाल्ने बताइन् ।
विराटनगर–३ कानुन क्याम्पस पूर्व घर भएका प्रेम घिमिरे पहिलो पटक मतदानमा आफूले दिएको मत खेर नजाओस् भन्नेमा सजग छन् । आफूभन्दा उमेरले धेरै पाका उम्मेदवार घरैमा आएर हात जोडेर मत मागेको देख्दा रमाइलो लागेको घिमिरेको भनाइ छ । घिमिरेले मतदाता शिक्षालाई बृहत र व्यापक बनाएको खण्डमा आफू जस्तो पहिलो पटक मत खसाल्ने मतदाता पनि मतदान प्रक्रियाका बारेमा पूर्ण जानकार हुने बताए ।
मोरङमा ३ सय ६ मतदानस्थलका लागि ८ सय ३९ मतदान केन्द्र स्थापना गरिएको छ । मोरङमा ३ लाख ७४ हजार ३ सय २६ पुरूष, ३ लाख ६१ हजार १ सय ९३ महिला र अन्य ६ गरी कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेका छन् । रासस