२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

थानी र कंडेलको पुरानो मैदानमा बीसीको ‘इन्ट्री’, सुर्खेत– २ मा कसको पल्ला भारी ?

कात्तिक २७, २०७९
थानी र कंडेलको पुरानो मैदानमा बीसीको ‘इन्ट्री’, सुर्खेत– २ मा कसको पल्ला भारी ?

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी पार्टीभित्र महत्त्वपूर्ण पदमा नभए पनि राजनीतिमा परिचित नाम हो । 

पार्टीभित्रको दुईलाइन संघर्षका कारण थानी सधैँ चर्चामा रहने गर्दछन् । पार्टीको आन्तरिक संघर्षको परिणाम स्वरूप सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी अलगअलग ध्रुवमा विभाजित हुँदै आएका छन् ।

पहिलोपल्ट २०५१ सालको मध्यावधि निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट एमालेका उम्मेदवार यमलाल कँडेलसँग पराजित भएका थानीले २०५६ को संसदीय निर्वाचनमा उनै कँडेललाई हराए ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेका कँडेलले थानीलाई पराजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनै कँडेललाई हराउँदै थानीले हारको बदला लिए । २०७४ मा भने वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नवराज रावतसँग थानी पराजित हुन पुगे ।

नयाँ संविधान निर्माणपूर्व सुर्खेतमा ३ वटा संसदीय निर्वाचन क्षेत्र थिए । संविधान घोषणापछि भएको प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका थानी अहिले लोकतान्त्रिक वाम गठबन्धनको बलमा सुर्खेत– २ मा उम्मेदवार छन् ।

सुर्खेती राजनीतिमा थानी र कँडेलबीचको चुनावी प्रतिस्पर्धा रोचक मानिन्थ्यो । २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसको स्ववियु चुनावदेखि २०५१ देखि २०७० सम्मका प्रतिनिधिसभा/संविधानसभा निर्वाचनमा उनीहरूबीच एकले अर्कालाई हराउने प्रतिस्पर्धा चलिरह्यो ।

वीरेन्द्रनगरका बासिन्दा थानी र कंडेलबीचको प्रतिस्पर्धामा मुलुक संघीयतामा गएसँगै ‘ब्रेक’ लागेको छ । एमाले नेता कंडेल २०७४ सालयता प्रदेशसभामा छन् । उनी यसपल्ट पनि सुर्खेत २ (१) का उम्मेदवार छन् ।

थानी सुर्खेत २ बाट प्रतिनिधिसभाको यात्रा तय गर्दैछन् । उनीसँग एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बीसीको मुख्य प्रतिस्पर्धा हुँदैछ ।

सुर्खेत उपत्यकामा पर्ने तत्कालीन लाटीकोइली गाविसको अध्यक्ष भइसकेका ६३ वर्षीय बीसी सहकारी अभियन्ताको रूपमा परिचित छन् । उनी थानीसँग पहिलोपटक संसदीय प्रतिस्पर्धा गर्दैछन् । 

६२ वर्षीय थानीसंग सांसदका अतिरिक्त २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहकारी तथा गरिबी निवारणमन्त्री र २०५६ देखि २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदमा राज्यव्यवस्था समितिको सभापति भएको अनुभव छ ।

कांग्रेसको बलियो संगठन, गठबन्धनका मुख्य सहयात्री दल माओवादी केन्द्र, जनमोर्चाको सहयोगमा सहजै चुनाव जित्ने उनको दाबी छ ।

सुर्खेत– २ अन्तर्गत प्रदेशसभाका दुबै क्षेत्रमा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार खडा गरेको छ । गठबन्धनका तर्फबाट प्रदेश १ मा कांग्रेसका कालीप्रसाद शाक्य र प्रदेश २ मा माओवादी केन्द्रका विन्दमान विष्ट उम्मेदवार छन् ।​

शाक्यसंग एमालेका प्रदेश इञ्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य कँडेल, एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय तथा प्रदेश २ मा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विष्टसंग एमालेका प्रदेश कमिटी सदस्य ताराकेश्वर गौतम र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले प्रतिस्पर्धा गर्दैछन् । 

कांग्रेस उम्मेदवार थानी पार्टीभित्रको मनमुटाव अन्त्य भइसकेको दाबी गर्छन् । उनी भन्छन्, ‘बलियो गठबन्धन छ । पार्टीभित्र पहिलेजस्तो असन्तुष्टि छैन । आफ्नो पहलमा भएका विकास निर्माणका कामको मूल्यांकन गर्दै जनताले जिताउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।’

थानीका प्रतिस्पर्धी बिसी भने नेताले गठबन्धन गरे पनि जनताले त्यसलाई नमान्ने दाबी गर्छन् । ‘जनताले नयाँ अनुहार खोजेका छन्, आम सर्वसाधारणको मप्रति ठूलो सहानुभूति छ,’ उनी भन्छन्, ‘सहकारीको नेतृत्व गरेर सहकारीकर्मीको मनमनमा छाएको छु । मेरो इमान्दारितालाई जनताले सम्मान गर्नेछन् ।’

सुर्खेत– २ मा चौकुने र बराहाताल गाउँपालिका, पञ्चपुरी नगरपालिका तथा वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ । 

पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका कांग्रेसले जितेको छ भने वीरेन्द्रनगर एमालेले जितेको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा यो क्षेत्रमा एमालेभन्दा कांग्रेस एक हजार मतले अघि छ । 

यसमा माओवादी केन्द्र, जनमोर्चाको समेत जोड्दा अझ बढ्न सक्ने देखिन्छ । सुर्खेतमा माओवादी केन्द्र तेस्रो दलका रूपमा स्थापित भएपनि यहाँ हरेक निर्वाचनमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ ।

‘यो निर्वाचन पनि कांग्रेस र एमालेबीचकै अस्तित्वको लडाईं हो,’ राजनीतिक विश्लेषक पीताम्बर ढकाल भन्छन्, ‘चुनाव जित्नलाई अन्य साना दलको सहारा लिए पनि त्यसको लाभहानी अरूको पोल्टामा जाँदैन । जीत–हार जे भएपनि यहाँ दुई दलकै हुनेछ, तेस्रो शक्ति उदाउने अवस्था छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्