
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावले संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे ।
“एउटा गठबन्धन केपी ओलीले नेतृत्व गरेका छन्, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”
प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए ।
“राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु”, उनले भने, “त्यसका लागि आवश्यक पहल गर्नेछु ।” उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए । “प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु”, उनले भने, “तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।”
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले उत्तरी गोरखामा विकासको निर्माण अवस्था जहाँको तही रहेको बताए । उनले केही दलका उम्मेदवारले विकासको भ्रम फिजाएर हिँडेको भन्दै एमालेका उम्मेदवारले भाषणमा विकास गरे पनि वास्तविकतामा गोरखा क्षेत्र नम्बर १ को अवस्था उस्तै रहेको दाबी गरे ।
“म सडक बनाएर पुल बनाउँछु”, उनले भने, “सडक विनाको पुल बनाउँदिन ।” बजगाईंले अब निर्वाचन जितेर गएपछि अन्य कुनै प्रकारको अनैतिक काम नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।