
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट आज देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामनाका लागि तयार हुन पनि आग्रह गरे । उनले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमि कजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
अर्यालले सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहन सशस्त्र प्रहरी कर्मचारीलाई अनुरोध गरे ।