
मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैछन् ।
क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । मर्चवारमा अपेक्षाकृत रूपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दैछन् ।
बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन् ।
मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन् । अन्न भण्डारको रूपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरूको भनाइ छ ।
कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्सेनि मल र बीउको लागि सास्ती भोग्दै आएको बताइन् । उनी अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताउँछिन् ।
‘स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो,’ उनले भनिन्, ‘तर केही भएन, हामी आफैं पारी गएर मल र बीउ ल्याउँछौं, मेहनत गरेर रोप्छौं ।’
उनले सरकारले गरीब र पीडितका लागि पठाएको राहत नपाएको गुनासो गरिन् । ‘सरकारले गरीब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ,’ उनले भनिन्, ‘त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन ।’ त्यसकारण जसले सहज रूपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ, उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ ।
उनकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको पनि । उनले पनि स्थानीय नेताहरूले आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गरिन् । ‘गहँु छर्ने बेला भएको छ, वडाले २ बोरा गहँुको बीउ दिने भनेको थियो, अहिले ४–५ किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?’ उनले भनिन्, ‘हामीमाथि चरम भेदभाव भएको छ ।’