०८ साउन २०८३, शुक्रबार

नवलपरासी पूर्वमा निर्वाचनको तयारी पूरा

कात्तिक २८, २०७९
नवलपरासी पूर्वमा निर्वाचनको तयारी पूरा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तवरले सम्पन्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय लगायतले अन्तिम तयारी गरिरहेका छन् । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको छ, आवश्यक सुरक्षाको प्रबन्ध सबै मतदान केन्द्रमा भइसकेको छ ।’ निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षाको व्यवस्था सुदृढ बनाइएको उनको भनाइ छ । उनका अनुसार जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित छन् ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा मतदान अधिकृत, कर्मचारी मतपत्र लगायतको सुरक्षाको लागि मतदान केन्द्रमा थप प्रहरी परिचालन हुने बताए ।

जिल्लाभित्रको मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सबै मतदान अधिकृतलाई नियुक्तिपत्र दिई शुक्रवार र शनिवार २ निर्वाचन क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।

प्रतिनिधि सभाको २ निर्वाचन क्षेत्र रहेको नवलपरासीपूर्वमा ११३ मतदानस्थल र ३०२ मतदान केन्द्र रहेका छन् ।

मतदान अधिकृलाई निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रिया लगायत विषयमा अभिमुखीकरण दिइएको जनाइएको छ ।

निर्वाचनका लागि २ हजार ४१६ कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि हरेक मतदान केन्द्रमा मतदान अधिकृतसहित ८ जना कर्मचारी परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी परिचालन गरिएको छ ।  

यसैबीच, बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले ८ वटै पालिकामा नमूना मतदान कार्यक्रम गरेको छ । विद्यार्थी तथा स्थानीयलाई मतदान गर्न सिकाउने र बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका पदाधिकारी र केही स्थानीयको सहभागितामा नमूना मतदान सञ्चालन भएको थियो । मतदाता प्रशिक्षण कार्यक्रम प्रभावकारी नभएको जनगुनासो आइरहँदा उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा स्थानीयलाई लक्षित गरी नमूना मतदान गर्न सिकाइएकाले विद्यार्थीले आफू र आफ्नो परिवारलाई मतदान गर्न सिकाउने अपेक्षाका साथ नमूना मतदान कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी भुषालले बताए । नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्