२८ जेठ २०८३, बिहीबार

हाते ट्रयाक्टरले गोरु विस्थापित

कात्तिक २८, २०७९
हाते ट्रयाक्टरले गोरु विस्थापित

बझाङको खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उनले हलो नसमात्ने अडान नै लिएका छन् ।

गोरु जोतेर ढाड दुखाउनुभन्दा एकैछिनमा ट्रयाक्टर जोतेर घर फर्कनु आनन्द भएको उनले बताए । ‘कसैले मागे पनि बरु सित्तैमा ट्रयाक्टर लगाइदिन्छु तर हलो समात्न भने मनै लाग्दैन,’ उनले भने, ‘गोरु जोतेरै बूढो भइसकें । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्रयाक्टरले धेरै सजिलो भएको छ ।’

उनका अनुसार अहिले हाते ट्रयाक्टरले १० दिनमा हुने काम एकैदिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्रयाक्टर नै विकल्प भएको उनी बताउँछन् । ३ वर्षअघि जयपृथ्वी नगरपालिका–९ की यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा उनी असार र मंसिरबाहेक बाँकी समय पल्लो गाउँ चरिचराउनका लागि पुर्‍याउँथिन् ।

उनको घरमा गोरु भएपछि छिमेकीले समेत खेत जोत्ने मौका पाउँथे । घरमा ल्याएपछि २ महिना गोरु दैनिकजसो जोतिन्थ्यो । पानी नलाग्ने ठाउँमा त कहिल्यै महिना समेत कुर्नुपर्दथ्यो । गोरु जोत्ने बेलामा ठूला खेतमा त २ हल गोरुसहित २ दर्जनभन्दा बढी खेतालाको काम हुन्थ्यो ।

गत मंसिरमा १ जना आफन्तले हाते ट्रयाक्टर किनेर ल्याए । यसले उनले आफ्नो खेती मात्रै नभई ३/४ जना छिमेकीकै खेती बनाए । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्रयाक्टर नै राख्ने सोच बनायो । किनेका गोरु बिक्री गर्न खोजे पनि किन्ने मान्छे नै भेटिएनन् । पछि अर्कै पालिकाका मान्छेलाई उनको परिवारले सित्तैमा एक हल गोरु दियो । ट्रयाक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम र छिटो हुन थालेको उनी बताउँछिन् ।

जयपृथ्वी नगरपालिका–९ पिठालेखकी सीता थापाले पनि ३ वर्ष अगाडि हाते ट्रयाक्टर किनिन् । गोठमा भएका गोरुलाई बेचेर कृषिको अनुदानसहित ७० हजार रुपैयाँमा ट्रयाक्टर भित्र्याइन् । रोपाइँ गर्न महिनाभरि लाग्ने खेतमा ट्रयाक्टरपछि हप्ता दिनमै सकिन थाल्यो । उनी शुरूशुरूमा आफ्नो मात्रै नभएर छिमेकीको खेतमा मद्दत गर्न थालिन् । पछि डिजेलको मूल्य बढ्दै जाँदा ट्रयाक्टर भाडामा समेत प्रयोग गर्न थालेको उनी बताउँछिन् । ट्रयाक्टरमा डिजेल भर्ने तथा केही रकम लिएर छिमेकीको खेत जोत्ने गरेको उनले सुनाइन् ।
 
उनको देवलको खेतमा पहिले २ दिन गोरु जोत्नै लाग्थ्यो । २० जनाले रोपाइँ गर्थे । गहुँको सिजनमा पनि २ दर्जन मान्छे चाहिन्थे । हलीसहित ७/८ जना पुरुषले बिहानैदेखि खट्नुपथ्र्यो । आजभोलि भने ३/४ घण्टामै काम सकिने गरेको छ ।

‘आज पनि हामी २ जना मात्रै थियौं । ३ घण्टामै जोतेर सकियो । रोपाइँको दिनमा पनि थोरै मान्छे भए नि पुग्छ,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्