२६ असार २०८३, शुक्रबार

जनता कसको पक्षमा छन् मंसिर ४ मा स्पष्ट हुन्छ : प्रचण्ड

कात्तिक २८, २०७९
जनता कसको पक्षमा छन् मंसिर ४ मा स्पष्ट हुन्छ : प्रचण्ड
तस्वीर स्राेत-रासस

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् ।    

लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए ।

“गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु”, उनले भने, “गठबन्धनको जीत सुनिश्चित छ ।”    

शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको प्रचण्डले बताए ।

मङ्सिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ ।    

“यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ”, प्रचण्डले भने, “यसका लागि कैयनको ज्यान गएको छ, म उनीहरुलाई सम्मान गर्न चाहन्छु ।”    

मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै प्रचण्डले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने दाबी गरे ।      

उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए ।

प्रचण्डले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए । त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए । त्यस्तै, मुलकमा शान्ति, लोकतन्त्र, जनताको अधिकारमा खतरा रहेसम्म गठबन्धन कायम रहनेसमेत प्रचण्डको दावी छ ।

त्यस्तै, नेपाली कांग्रेसका नेतारामचन्द्र पौडेलले गठबन्धन मुलुकको आवश्यकताका आधारमा गठन भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

आफूहरुले ७० वर्ष लडेर ल्याएको राजनीतिक परिवर्तले दलित जनजाति, उत्पडित, महिलालगायतको अधिकार स्थापित भएको भन्दै पौडेलले गाउँगाउँमा सिंहदरबार आएको बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्