
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बर्दियामा प्रतिनिधिसभा सदस्यमा २ र प्रदेशसभा सदस्यमा ४ जना निर्वाचित हुँदैछन् ।
जिल्लाको क्षेत्र नम्बर १ को २ मा प्रदेशसभा सदस्य पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अन्जु दहित, एमालेका भक्तबहादुर विक तथा स्वतन्त्र उम्मेदवार सुवास पोख्रेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएकी दहित यसअघि बर्दिया नगरपालिकाको उपप्रमुख समेत थिइन् । आफूले सहजै जित्ने जिकिर गर्दै विकासका एजेण्डा बोकेर घरदैलो गरिरहेको उनी बताउँछिन् ।
सुकुम्वासी नेताका रूपमा परिचित नेकपा एमालेका भक्तबहादुर विक यसपटक चुनावी मैदानमा उत्रिएका छन् । गरीब र सर्वहारा वर्गको उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । आफूहरूले सहजै जित्ने सम्भावना रहेको विक बताउँछन् ।
लामो समय राजनीतिमा बिताएका पोख्रेल पुराना ठूला राजनीतिक पार्टीले विश्वास गुमाएको भन्दै आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।
क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १० उम्मेदवार छन् । यस क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता सञ्जय गौतम यसपटक पनि उम्मेदवार छन् । एमालेबाट पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली उम्मेदवार बनेका छन् । यिनै २ जनाबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
एमालेका उम्मेदवार ज्ञवालीले जिल्लाका भूमिहीन सुकुम्वासी, मुक्त कमैया र स्थानीय जनताको हकअधिकारका लागि आन्दोलन गर्दै आएको र उनीहरूको सुखदुःखको साथी पनि भएको हुनाले आफूलाई जनताले मत दिने बताउँछन् ।
गठबन्धनको तर्फबाट बर्दिया–१ का उम्मेदवार कांग्रेसका गौतम विगतमा आफूले जिल्लामा धेरै विकास र निर्माणका काम गरेको जिकिर गर्दै जनताले आफूलाई नै भोट दिएर जिताउनेमा विश्वस्त छन् । गत प्रतिनिधिसभा सदस्यको चुनावमा एमाले र माओवादीको गठबन्धन भए पनि तत्कालीन एमालेका उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई पराजय गरेर गौतम विजयी भएका थिए । बर्दियाको प्रतिनिधिसभा–१ मा १ लाख ६२ हजार ६६२ मतदाता रहेकोमा प्रदेशसभा क्षेत्र नम्बर १(१) मा ८१ हजार ९१९ मतदाता र क्षेत्र नम्बर १(२) मा ८० हजार ७४३ मतदाता छन् ।