
काठमाडौँ महानगरपालिका वडा २८ मा रहेको खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पीटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ । आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को
अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको १० औँ कार्यपालिका बैठकले नगर विकास कोषको प्राविधिक सहयोगमा यस सम्बन्धी काम गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले सहकारी क्षेत्र हेर्नका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको छ । कार्यपालिकाअन्तर्गत अहिले १२ वटा समिति छन् । यसमा विषयविज्ञ सहितको एउटा समिति थप हुने शाहले जानकारी दिए ।
बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयमसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ । यस्तै सामाजिक विकास विभागअन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ ।
कार्यपालिकाको बैठकले महानगरअन्तर्गतका ८९ वटा सामुदायिक विद्यालय र १६ वटा बैकल्पिक महिला विद्यालयसहित १ सय ५ वटा विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड व्यवस्थापन गर्न सशर्त अनुदान रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । कक्षा ६ देखि १२ सम्मका छात्रालाई प्याड उपलब्ध गराउने विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत संघीय सरकारबाट चालु आर्थिक बर्षमा करिव १ करोड ६५ लाख रुपैयाँ महानगरलाई प्राप्त भएको महानगरपालिकाले जनाएको छ । विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा दर्ता भएका लाभग्राही छात्राहरुको संख्याका आधारमा निकासा हुनेछ । यसमा प्रति छात्रा करिब ९ सय ८४ रुपैयाँ पर्छ ।
प्रयोग भइसकेका प्याडको व्यवस्थापन गर्न सेनेटरी प्याड इन्सिनेटर खरिद प्रक्रिया अघि बढाइने उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।